सरसफाई संकटको व्यवस्थापनका लागि आज विश्व शौचालय दिवस मनाइन्छ । शौचालय मानव मलमुत्र विसर्जन गर्ने ठाउँ शौचालय हो, जसको व्यवस्थापन नहुँदा स्वास्थ्य सम्बन्धी जटिलता उत्पन्न हुन्छ । तर, विश्वका झण्डै साढे चार अर्ब मानिस आज पनि व्यवस्थित शौचालयको पहुँचमा छैनन् । त्यस्तै व्यवस्थित शौचालय मार्फत सुरक्षित सरसफाईको पहुँचबाट ६७ करोड ३० लाख मानिस टाढा छन् । त्यसैले सबैलाई सरसफाई संकटको सामना गर्न प्रेरित गर्ने उद्देश्यका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व शौचालय दिवस मनाउने गरिएको हो । अंग्रेजी महिनाको नोभेम्बर १९ का दिन विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ शौचालय दिवस मनाइन्छ ।

खुला दिसाको अभ्यासबाट नेपाल छ वर्षअघि नै खुला दिसामुक्त भइसकेको छ । यसले नेपालमा शौचालयको आवश्यकता, महत्व सम्बन्धी चेतना प्रायः सबै क्षेत्र र समुदायमा प्रवाह भएको अनुमान गर्न सकिन्छ । यद्यपि अझै शहरी क्षेत्र र शहरहरुमा सुरक्षित सार्वजनिक शौचालयको अभाव छ, जसका कारण शहरी क्षेत्रको प्रदूषण नियन्त्रण गर्न सकिएको छैन । सन् २०१३ देखि औपचारिक रुपमा सचेतनाका कार्यक्रमसहित संयुक्त राष्ट्रसंघको युएन वाटर नामक निकायको संयोजनमा मनाउन थालिएको हो ।
खुला स्थानमा दिसापिसाब गर्नाले खानेपानीका स्रोत, मुहान, खोला, नदीनाला प्रदूषित हुन्छ । त्यसैले हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन सक्छ । यस्ता रोगले मानिसको स्वास्थ्यलाई असर गर्छ त्यसैले त्यस्तो जटिलता नियन्त्रण गर्न सुरक्षित शौचालय निर्माण र प्रयोगलाई प्रोत्साहन दिन राज्य एवम् सम्बद्ध निकायले प्राथमिकता दिने गरिएको हो । नेपाल खुला दिसामुक्त घोषित देश हो, तर व्यवहारमा त्यसको कार्यान्वयन भइसकेको छैन । मानवोचित जीवनशैली र गुणस्तर जीवनका लागि सरसफाई अति आवश्यक छ । त्यसका लागि व्यवस्थित शौचालय आधारभूत तत्व हो । सभ्य समाजका लागि नभई नहुने शौचालयको उपयोगबाट टाढा रहेका मानिसलाई त्यसको पहुँचमा पु¥याउन राज्य, सरसफाईको क्षेत्रमा काम गर्ने संस्था एवम् स्थानीय सरकारले लाग्नुपर्छ । अनि मात्र शौचालयको अभावमा हुने फोहोर र त्यसले उत्पन्न गर्ने रोगहरुबाट अकाल मृत्युको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।




























