लागू पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सहचालक पक्राउ, लागू औषध नियन्त्रण ऐन अन्तरगत कारवाही 

0
52

झापा । लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक तथा सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको तरहरा क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले इटहरी उप–महानगरपालिका–२०, तरहरा क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि पेश गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप भई उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय रोहन विक ( धरान उप–महानगरपालिका–८),३० वर्षीय विनय बि.क ( धरान उप–महानगरपालिका–५), २७ वर्षीय बिमल राई ( धरान उप–महानगरपालिका–५) , २३ वर्षीय अभिषेक चौधरी ( इनरुवा नगरपालिका–९) २८ वर्षीय दिवश चौधरी ( दुहबी नगरपालिका–८) , ३९ वर्षीय अर्जुन पौदार ( दमक नगरपालिका–१३) , ४३ वर्षीय पंचलाल खवास ( बवियाबिर्ता–७) , ३२ वर्षीय रमेश चौधरी (बेलबारी नगरपालिका–९) रहेका छन् ।
प्रहरीका अनुसार सवारी चालकहरूले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा जनधनको ठूलो जोखिम हुने भएकाले नियमित चेकजाँच र निगरानी कडा बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here