झापामा दोस्रो जिल्लास्तरिय डोरीतान आउटडोर च्याम्पियनसिप हुने

0
134

झापा । झापामा जिल्लास्तरिय दोस्रो डोरीतान आउटडोर च्याम्पियनसिप–२०८२ आयोजना गरिने भएको छ। हल्दीबारी गाउँपालिका–५ स्थित मोति आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता आगामी मंसीर ११ गते सञ्चालन हुने आयोजकले जनाएको छ।

बिर्तामोडमा आज साँझ गरिएको पत्रकार सम्मेलनमा खेलकुद कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरिएको हो। च्याम्पियनसिपको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्ने कार्यक्रम तय भएको छ।

झापा जिल्ला डोरीतान संघकी अध्यक्ष युनिता दवाडीका अनुसार प्रतियोगितामा तीन विभागीय टोली र १५ पालिकाका टोली सहित १८ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेल विहान ११ बजेदेखि सुरु भएर साँझ ५ बजे समापन गरिने बताइएको छ।

विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतियोगिता झापा जिल्ला डोरीतान संघ र हल्दीबारी जेसीजको संयुक्त आयोजनामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश डोरीतान संघ र हल्दीबारी गाउँपालिका संरक्षकको भूमिकामा रहनेछन्।

सहयोगी संस्थाका रूपमा नेको इन्स्योरेन्स, कामाक्षा टी प्रोसेसिङ प्रालि र मोति आधारभूत विद्यालय रहने जानकारी हल्दीबारी जेसीजका महासचिव प्रायुष पौडेलले दिएका छन्। खेलमार्फत युवालाई सक्रिय, अनुशासित र दक्ष जनशक्ति निर्माणमा योगदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

प्रतियोगितामा २०० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ। सहभागी खेलाडीका लागि खाजा तथा खानाको व्यवस्था मिलाइएको छ। प्रतियोगिता संचालनमा करिब ९ लाख ८२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताको पहिलो संस्करण २०७९ सालमा सम्पन्न भएको थियो। सो संस्करणमा कचनकवल गाउँपालिकाले उपाधि जितेको थियो भने बुद्धशान्ति गाउँपालिका फर्स्ट रनर–अप भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here