आज मंसीर ९ गते मंगलबार । तिथिको गणना अनुसार शुक्ल पक्षको पञ्चमी तिथि । यो दिनको सर्वाधिक महत्व छ वैदिक सनातनी परम्परामा । अझ राजर्षि जनककी सुपुत्री जानकीको प्राकट्य स्थल अर्थात् जन्मभूमि भएका कारण वर्तमानका जनकपुर र तत्कालीन मिथिलाञ्चलको लागि आजको दिन सर्वाधिक महत्वको, उत्सवको र गौरवको दिन हो । त्रेतायुगका अयोध्याका राजा दशरथ, राजर्षि जनक, छोरी जानकी तथा महाज्ञानी याज्ञवलक्यको पुण्यभूमि मिथिलाको राजधानी जनकपुरमा यो तिथिमा राम जानकी विवाह पञ्चमी मेला लाग्ने गरेको छ ।

नेपालकी आदर्श छोरी जानकी जसलाई सीता पनि भनिन्छ, उनको विवाह दशरथ नन्दन राजकुमार श्रीरामसँग भएको दिनको स्मरण र सम्मानमा लाग्ने मेलाको छुट्टै महत्व छ । आज पनि भारत उत्तर प्रदेशको अयोध्याबाट विवाहका लागि जन्ती आउने परम्परा छ । जन्तीको स्वागतका लागि स्थानीय र प्रदेश सरकारले भव्य तयारी गरेका हुन्छन् । आज पनि सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै तिलकोत्सव, वरण गर्ने मैथिल परम्परा कायम छ । आराध्य देव श्रीराम र मिथियापुत्री जानकीको विवाह भएको महिना मंसीर भएकाले मिथिलाका लागि यो महिनाको विशेष महिमा छ । मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् ।
त्रेतायुगमा ‘शिवधनु’ उचालेर जोडिएको दुई देशका बीचको वैवाहिक सम्बन्धको डोरी आज पनि कायम छ । वैदिक सनातन हिन्दू परम्परा मान्ने नेपाल र भारतका नागरिकका बीच यसकारण पनि विशिष्ट समानता र सम्बन्ध रहेको छ । देवीका रुपमा पूजा गरिने सीता अर्थात् जानकी नेपाल भूमिकी पुत्री हुन् । श्रीरामसँगको विवापछि उनले आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी र आदर्श महारानी र सम्पूर्णमा आदर्श नारीका रुपमा चिनिएकी छन् । आदर्श नारी सीता सत्चरित्रता, मातृवात्सल्य र करुणाकी खानी पनि हुन् । हाम्रा सबै छोरी, पत्नी, बुहारीहरुले देवी सीताको आदर्शको अनुशरण गर्न सके सीताको आदर्श चिरकाल पर्यन्त बाँचिरहनेछ । विवाह पञ्चमीको शुभकामना ।




























