अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा माया पौडेल चयन भएकी छिन् ।
स्थानीय सामुदायिक भवनमा सोमबार सम्पन्न भएको संस्थाको १७औं वार्षिक साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
त्यसैगरी नवगठित समितिका उपाध्यक्षमा भूपा राई र सदस्यहरुमा अमृतकुमारी राई, कालुमाया खड्का, धनमाया राना मगर, मुना राजवंशी र सरीता राई चयन भएका छन् । बाँकी दुई सदस्य समितिको बैठकबाट मनोनयन गरिने संस्थाकी व्यवस्थापक चन्द्रकला राईले जानकारी दिइन् ।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा पुनः कमला भट्टराई र सदस्यद्वयमा अञ्जना राई र जीना राई चयन भएका छन् । संस्था सञ्चालक समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष राईले, लेखा समितिको प्रतिवेदन संयोजक भट्टराईले र गत आर्थिक वर्षको वास्तविक एवम् चालु आर्थिक वर्ष २०८२÷०८३को अनुमानित बजेट नीति तथा कार्यक्रम व्यवस्थापक राईले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ६० लाख छ हजार एक सय रुपैयाँ, बचत संकलन दुई करोड ५८ लाख २३ हजार नौ सय २९ रुपैयाँ, ऋण लगानी ५६ लाख ८० हजार ४३ रुपैयाँ, विभिन्न शिर्षकमा रहेको कोष हिसाबमा १४ लाख ६३ हजार दुई रुपैयाँ, जम्मा आम्दानी २५ लाख ३० हजार आठ सय ९८ रुपैयाँ, जम्मा खर्च २३ लाख ४० हजार ७४ रुपैयाँ र शुद्ध नाफा एक लाख ९० हजार आठ सय २४ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा असल बचतकर्तातर्फ अर्जुनधारा–८ निवासी देउका श्रेष्ठ, असल ऋणीतर्फ अर्जुनधारा–५ निवासी सतोकुमारी चोङवाङ, ज्येष्ठ शेयर सदस्य अर्जुनधारा–५ निवासी नन्दप्रसाद भण्डारी, कृषि व्यवसायी अर्जुनधारा–९ निवासी चन्द्रबहादुर पौडेल र एकल महिला ज्येष्ठ शेयर सदस्यतर्फ अर्जुनधारा–८ निवासी सकुन्तला थापा सम्मानित भएका छन् ।
त्यस्तै गत शैक्षिक वर्ष २०८१को एसईई परीक्षामा शेयर सदस्यहरुका सन्तानमध्ये उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थीद्वय अर्जुनधारा–८ निवासी आयुष राई र अर्जुनधारा–९ निवासी पेरीसा बस्नेतलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष हीमा विष्ट, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, संस्थाकी सल्लाहकार देवकला प्रसाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी लेखा समिति सदस्य माया पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक राईले गरेकी थिइन् ।































