झापामा जाडोयामसँगै ‘रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान’द्वारा न्यानो कपडा वितरण अभियान

0
255

झिलझिले ।

जिल्लामा चिसो मौसम बढ्दै जाँदा मुलुककै परिचित समाजसेवी संस्था ‘रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान’ले यस वर्ष पनि न्यानो कपडा वितरण अभियान सुरु गरेको छ।

दशक अघिदेखि निरन्तर रूपमा जाडोयाममा गरिब र सीमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्दै आएको प्रतिष्ठानले यस वर्ष झापाका विभिन्न सामुदायिक तथा धार्मिक विद्यालयमा अभियान विस्तार गरेको हो।

शिवशताक्षी, कन्काई, भद्रपुरलगायतका स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक तथा सामाजिक रूपमा पिछडिएका बालबालिकालाई विद्यालयमै पुगेर अध्ययन निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत लाखौँ रुपैयाँ खर्च गरेर समाजसेवा गर्दै आएको छ।

जाडो प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको अनुपस्थित र ड्रप–आउट दर वृद्धि हुने तथ्यलाई ध्यानमा राख्दै गरिएको न्यानो लुगा वितरण अभियानलाई शिक्षा क्षेत्रमा काम गर्ने विश्लेषकहरूले ‘रचनात्मक र प्रभावकारी कदम’का रूपमा व्याख्या गरेका छन्।

सोमबार मात्र प्रतिष्ठानले कन्काई नगरपालिकाका ३ वटा विद्यालयमा न्यानो ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न गर्यो। कन्काई–२ स्थित पञ्चकन्या आधारभूत विद्यालयका ४३ जना विद्यार्थीलाई जाडोमा लगाउने नयाँ ट्र्याकसुट वितरण गरिएको थियो।

कार्यक्रम कन्काई नगरपालिकाका सामाजिक व्यक्तित्व शेरबहादुर थापाको प्रमुख आतिथ्यमा तथा वडा नं. २ का अध्यक्ष बलराम राईको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका ४० भन्दा बढी अभिभावकको उल्लेखनीय उपस्थिति थियो।

त्यसपछि कन्काई नगरपालिकाकै वडा नं. ४ अन्तर्गतका वैदिक संस्कृत विद्यालय र कन्काई गायत्री आधारभूत विद्यालयका विद्यार्थीलाई समेत प्रतिष्ठानले न्यानो लुगा वितरण गर्यो। सो कार्यक्रम कन्काई गायत्री आधारभूत विद्यालयमा आयोजना गरिएको थियो। संस्कृत विद्यालयका १२ र आधारभूत विद्यालयका १०५ गरी कुल ११७ विद्यार्थीले नयाँ ट्र्याकसुट प्राप्त गरेको विद्यालयले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगा प्रसाद ओलीले समाजसेवा प्रतिष्ठानको मूल उद्देश्य भएको बताए । ‘‘हामीले कुनै पनि अपेक्षाविना सामाजिक उत्तरदायित्वअनुरूप वर्षेनी लाखौँ रुपैयाँ खर्च गरेर सेवा गर्दै आएका छौँ,’’ उनले भने।

कन्काईमा मात्र नभई भद्रपुर नगरपालिकाका विभिन्न विद्यालयमा पनि प्रतिष्ठानले न्यानो लुगा वितरण गरेको छ। भद्रपुरस्थित श्रीकृष्ण दैपायन वेद विद्यालयका ८१ जना र सरस्वती आधारभूत विद्या मन्दिरका ६० जना गरी जम्मा १४१ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो। कार्यक्रम भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो।

भद्रपुरमा आयोजित कार्यक्रममा अधिकांश जनप्रतिनिधिको उपस्थिति रह्यो। प्रमुख पोखरेलले प्रतिष्ठानलाई नेपालकै उत्कृष्ट सामाजिक संस्थामध्ये एकको रूपमा व्याख्या गर्दै निरन्तर जनमुखी कार्यका लागि धन्यवाद दिए।

कार्यक्रमहरूमा प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) लगायत प्रतिष्ठानका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। गत वर्ष पनि प्रतिष्ठानले झापाका ६ वटा स्थानीय तहमा सामुदायिक तथा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयहरूलाई खाद्यान्न, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको थियो।

निरन्तर रूपमा जनस्तरमा प्रभाव पार्ने गरी सञ्चालन भइरहेको यस अभियानले समुदायमा संस्थाप्रतिको विश्वास र सम्मान थप बढाएको छ। न्यानो कपडा वितरणको यस वर्षको अभियान क्रमशः अन्य स्थानीय तहका विद्यालयमा पनि विस्तार गर्दै लगिने प्रतिष्ठानले जनाएको छ। शिवसताक्षी ४ को मञ्जुश्री, ६ को सरस्वती आधारभूत र ८ को झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि न्यानो कपडा वितरण कार्यक्रम रहेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) ले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here