झापा । बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीनजना उच्च अधिकारीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पनि छन्। सोमबार अदालतबाट उनीहरूलाई पाँच दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
कुसुम लामाले दिएको उजुरीका आधारमा सीआईबीले बैंकका शीर्ष पदाधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसुरमा छानबिन थालेको हो। सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकाले राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुन विपरीत गतिविधि गर्दै बैंकलाई हानि नोक्सानी पुर्याएको आरोप छ। उनले अपराध लुकाउन विभिन्न कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरिएको दाबी गरे।
तर, सीआईबीको सिधा हस्तक्षेपले राष्ट्र बैंकको भूमिकामै प्रश्न उठेको छ। राष्ट्र बैंक ऐनको दफा ८४ ले बैंक तथा वित्तीय संस्थाको निरीक्षण, सुपरीवेक्षण र नियमनको जिम्मेवारी केन्द्रीय बैंकमै तोकेको छ। त्यसैले प्रभु बैंकमाथि सीआईबीले एकल रूपमा चलाएको अनुसन्धानले नियमनकारी निकायको प्रभावकारितामै टिप्पणी खडा गरेको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले अहिले भइरहेको अनुसन्धान राष्ट्र बैंकको नियमित निरीक्षणमा भेटिएको कमजोरीका आधारमा नभएको स्पष्ट पारे। उनका अनुसार प्रहरीमा परेको उजुरीपछि अनुसन्धान अघि बढेको हो।
“राष्ट्र बैंकले नदेखेको कुरामा पनि उजुरीका आधारमा विशेष अनुसन्धान हुन सक्छ,” पौडेलले भने, “तर वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक नै केन्द्रमा बस्नुपर्छ, अनुसन्धानकारी निकायले परिपूरक भूमिका खेल्नुपर्छ।”
बैंकिङ क्षेत्रका जानकारहरूले समेत सीआईबीको सक्रियता र राष्ट्र बैंकको मौनताप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नियमनकारी संस्थालाई बेवास्ता गरेर सीईओ तहमै धरपकड गर्नु बैंकिङ क्षेत्रमा नकारात्मक सन्देश गएको बताए।
उनका अनुसार—
“राष्ट्र बैंकको सहभागिता बिना यस्तो कारबाही गर्दा बैंकका शीर्ष पदाधिकारीहरू नै अन्योलमा पर्छन्। जोखिमयुक्त कर्जा दिनै कठिन बन्छ।”
प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनसमेत यही उजुरीका आधारमा ११ कात्तिकमा पक्राउ परेका थिए। उनी धरौटीमा रिहा भए पनि मुद्दा अहिले अदालतमा विचाराधीन छ।































