काठमाडौँ, आकर्षक तलब र छिटो भिसाको लोभ देखाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने क्रम बढ्दै गएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एकैदिन तीन जनालाई पक्राउ गरेको छ। कार्यालयमा हरेक दिन चार–पाँचवटा उजुरी पर्न थालेसँगै छानबिन र कारबाहीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उजुरीको तथ्य–माथेमाथि अनुसन्धान गर्दै आवश्यकताअनुसार छुट्टै टोली परिचालन गरिएको छ। “दैनिक रूपमा उजुरी बढ्दै छन्। अनुसन्धान गर्दा ठगीका श्रृंखलाबद्ध घटनाहरू भेटिँदै गएका छन्,” उनले भने।
आज मात्रै वैदेशिक रोजगारीका नाममा करोडौँ रकम उठाएर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको आचार्यले जानकारी दिए।
एक करोड २५ लाख ७८ हजार रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीपछि चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी पक्राउ परेका छन्। उनले अल्बानिया, अजरबैजान, मेसिडोनिया, सर्बियालगायत देशमा पठाइदिने भन्दै एकपछि अर्को व्यक्तिबाट ठूलो रकम असुलेको प्रहरीले बताएको छ।
यसैगरी नवलपरासी घर भई काठमाडौँ बस्दै आएका दिलबहादुर सारु मगरलाई सर्बिया पठाइदिने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको छ।
त्यस्तै सर्लाही घर भई हाल ललितपुर बस्ने चन्द्रभूषण प्रसादलाई अल्बानिया पठाइदिने लोभमा ३ लाख ८० हजार रुपैयाँ उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरू तीनैजनालाई आजै थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए।






























