दमक । झापाको दमकमा ढल व्यवस्थापनका कामसँगै भत्काइएको सडक पुनर्निर्माण भएको केही महिना नबित्दै फेरि भत्किन थालेको छ। ढल निर्माण अधूरो छ स त्यही क्रममा भत्काइएका सडक पुनः स्तरोन्नति भएपछि पनि टिक्न नसक्दा स्थानीयवासी थप समस्यामा परेका छन्।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार ढलको पाइप बिछ्याउने नाममा कालोपत्रे सडक भत्काइएपछि लामो समयसम्म पुनर्निर्माण नहुँदा नगरवासीबाट ठूलो दबाब आएको थियो। यद्यपि पुनः कालोपत्रे गरिएको सडक पनि टिकाउ नदेखिएको उहाँको भनाइ छ।
“सडक कालोपत्रे त भयो, तर केही महिना नबित्दै फेरि भत्केर बेहाल भएको छ,” प्रमुख थापाले भने। दैनिक हिँडडुल तथा आवतजावतमा गम्भीर समस्या सृजना भएको नगरप्रमुखको आरोप छ।
दमकको ढल व्यवस्थापन परियोजना संघीय सरकारले २०७७ असोज २६ गतेदेखि अघि बढाएको हो। यो योजनाले घरघरबाट निस्कने फोहोर पानी प्रशोधन गरी मल र करिब २।५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। तर, निर्धारित समयमै निर्माण नअगाडि बढ्दा स्थानीयको असन्तुष्टि चुलिएको जनप्रतिनिधिहरू बताउन थालेका छन्।
निर्धारित समयअनुसार यो परियोजना २०७९ चैत २५ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, बारम्बार समय थपिँदै जाँदा अहिले पुगेको मंसिर दोस्रो सातासम्म पनि काम सम्पन्न हुने संकेत देखिएको छैन।
स्वामीनारायण–आशीर्वाद जेभीले निर्माण गरेको सडकमा गहिरा खाल्डाखुल्डी देखिन थालेपछि यातायात सञ्चालन नै कठिन बनेको नगरप्रमुख थापाको भनाइ छ। समयमै काम नगर्ने, आवश्यक समन्वय नहुने र कम गुणस्तरको काम भएको आरोपसमेत उनले लगाएका छन्।
ढल निर्माणका नाममा सडक भत्किएर अलपत्र परेको र पुनर्निर्माणमा कमजोरी देखिँदा यो परियोजना अहिले स्थानीयवासीका लागि टाउको दुखाइको विषय बनेको छ।





























