छविराज ढकाल
पथरी शनिश्चरे,
पूर्वी मोरङ्गमा बसोबास गर्दै आएका लिम्बु समुदायले चासोक तङ्नाम उधौली पूजा- २०८२ धुमधामका साथ मनाएका छन्।
आज बिहीबार मोरङको पथरी शनिश्चरे वडा नं १० मा रहेको श्रीजङ्गा धार्मिक वन क्षेत्रमा सो समुदायले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाएका हुन्।

महिला फुटबल, फुट्सल, भलिबल, छेलो लगायतका विभिन्न लिम्बु समुदायका परम्परागत तथा मौलिक खेलकुद प्रतियोगिताको आयोजना कार्यक्रमका संयोजक गणेश थाक्लुङले जानकारी दिनुभयो।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि पथरी नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले ‘ हाम्रो देश विभिन्न जात, धर्म , संस्कृति, परम्परा, भाषा-भाषीको साझा फूलबारी भएको उल्लेख गर्दै स्थानीय जातजाति भाषाभाषी र समुदायको सांस्कृतिक र मौलिक पर्वलाई संरक्षण गर्न पथरी शनिश्चरे नगरपालिका र आफ्नो तर्फबाट सक्दो प्रयास भइरहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्य रहेको एक औपचारिक कार्यक्रमकाे श्रीजङ्गा धार्मिक वन संरक्षण समितिका अध्यक्ष डम्बर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा आदिवासी जनजाति महासंघ पथरी शनिश्चरेका अध्यक्ष देवेन्द्र वनेम, गीतकार तथा समाजसेवी गणेश थाक्लुङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। सोही क्रममा विभिन्न परम्परागत दौरा, सुरुवाल, ढाका, टोपी र शिरबन्दी, चौबन्दी, सिलाम सक्मा ,फूल आदि परम्परागत सांस्कृतिक पहिरनमा सजिएका यूवा -युवतीहरुले आफ्ना मौलिक तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।





























