क्यान्सर पीडित निमेशको उपचारका लागि विदेशबाट आर्थिक सहयोग

0
390

झापा, वाह्रदशी गाउँपालिका–३ झापाका १५ वर्षीय निमेश जवेगु खुट्टाको ‘सार्कोमा’ क्यान्सरका कारण जीवन–मरणको दोसाझमा छन् ।

पशुपति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उनले अहिले एसइई परीक्षाको तयारी गर्नु पर्ने थियो । तर क्यान्सर पुष्टि भएपछि उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत छन् । चिकित्सकले निमेशको चाँडै शल्यक्रिया गर्नुपर्ने बताएपछि परिवार आर्थिक संकटमा परेको छ ।

निमेशका बुबा नगेन्द्र जबेगु र आमा आइत माया जबेगुले कमजोर आर्थिक पृष्ठभूमिबाटै उपचार सुरू गरेका थिए । हालसम्म छोराको उपचारका लागि ५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले बताएको छ ।

उनको शल्यक्रिया सहितको उपचारका लागि कम्तीमा १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । यति ठूलो रकम जुटाउन नसक्ने भएपछि परिवार, स्थानीयवासी तथा शुभचिन्तकले ‘निमेश बचाउ अभियान’ सुरू गरेका छन्।

अभियानलाई प्रभावकारी बनाउन मनिष तुम्बापो संयोजक रहेको ११ सदस्यीय समिति गठन गरिएको छ ।

बिरामीकै नाममा सहयोग संकलन गर्ने उद्देश्यले माछापुछ्रे बैंकमा खाता खोल्ने तयारी भएको छ । हाल समिति संयोजकको खाता नम्बर ०८ ३०९९५५ ३०६०००१९ (माछापुछ्रे बैंक) माध्यमबाट सहयोग लिन सुरु गरिएको संयोजक तुम्बापोले बताएका छन्। उनको उपचारका लागि सहयोग गर्ने दाताले ९८२०५१५७६३ मा सम्पर्क गरेर सहयोग रकम प्रदान गर्न आग्रह गरिएको छ ।

निमेशको उपचारका लागि विदेशबाट पनि सहयोग जुट्न थालेको छ । युएसबाट रहेका विवेक पनेरु, जगदीप लम्साल र पूजा चौहानले संयुक्त रूपमा रु २ लाख ३५ हजार २९४ संकलन गरी निमेशको उपचारका लागि पठाएका छन् ।

उक्त रकम विवेक पनेरुका बुबा–आमा कपिलमणि पनेरु र चन्द्रमाया पनेरु तथा उनकी श्रीमती सरिता पनेरुमार्फत निमेशका परिवारलाई बुझाइएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बलराम पनेरु, धनकुमार जबेगु, राजेन्द्र नेपाल, रोनिस बस्नेत, प्रेम चोङ्बाङ, सरोज चोङ्बाङ, अनिस लिम्बु, मनाहाङ सम्वाम्बाम्फे, प्रेम घिमिरे, चुडामणि पनेरुलगायत स्थानीय समाजसेवी उपस्थित थिए। उनीहरूले थप सहयोगका लागि सबैमा अपील गरेका छन्।

समितिले पारदर्शी रूपमा रकम संकलन गर्दै आवश्यक विवरण सार्वजनिक गरिने बताएको छ। अभियानका सदस्यहरूका अनुसार आर्थिक अभावले उपचार रोकिन नदिन निरन्तर सहयोग जुटाउने प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here