रञ्जित परियार,
बुटाबारी, मेचीनगर–१० चारआलीस्थित श्री किरातेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिमले किरात समुदायको महान पर्व चासोक तङ्गनाम तथा उधौली पर्व–२०८२ लाई यस वर्ष पनि विविध सांस्कृतिक, धार्मिक तथा प्रतियोगितात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। मंसिर १८ देखि २० गतेसम्म तीन दिनसम्म चलेको कार्यक्रममा त्येअङ्ग्सी सिरिजङ्गा दोस्रोको ३२२ औँ जन्मजयन्ती समेत विशेष रूपमा मनाइएको थियो।
कार्यक्रम अवधि भरि माङ्ग्लाक साङ्सेवा, कुवेसुस्मा, के:लाङ्ग प्रतियोगिता, पालाप हाक्पारे, छेलो हान्ने (पकलुङ्ग), डोरी तान्ने, फ्रकज्याम, म्यूजिकल चेयर लगायतका प्रतियोगिताहरू आयोजित गरिएका थिए। साथै, धार्मिक विधि–विधान, सांगीतिक प्रस्तुति तथा अन्य विविध सांस्कृतिक कार्यक्रमले वातावरण उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमका प्रमुख वक्ता किरात यायोखा चुम्लुङ्ग झापाका अध्यक्ष सेसेहाङ फियाकले किरात समुदाय विभिन्न समूह र subclasses मा रहे पनि सबैलाई एकतामा बाँधिनु अत्यन्तै आवश्यक रहेकोमा जोड दिए। किरात सभ्यताको जगेर्नाका लागि धर्मगुरु फागुनन्द, हिमानसिंह चेम्जुङ र सिरिजङ्गाले गरेका योगदान प्रति सचेत रहनुपर्ने कुरा उनले स्मरण गराए। किरात समुदायको एकता, बलिदान र मौलिक संस्कृतिले देशको समग्र विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
कार्यक्रमकी प्रमुख अतिथि, संघीय प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाले नेपालका विभिन्न जनजातिय भाषाहरूलाई स्थानीय तहमा राष्ट्रिय भाषाको हैसियत दिइनु सकारात्मक कदम भएको उल्लेख गर्दै, किरात भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता दिन सके राष्ट्रिय सद्भाव र संस्कृतिको संरक्षणमा थप योगदान पुग्ने धारणा राखिन्।
कार्यक्रममा विभिन्न किरात समुदायका संघ–संस्थाका सयौँ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विभिन्न खेल, नृत्य तथा सांस्कृतिक प्रस्तुतिका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रम माङ्गहिम मेचीनगरका अध्यक्ष अर्जुन थेबेको अध्यक्षता, उपाध्यक्ष हर्कजङ्ग ब्युँहिमको स्वागत मन्तव्य र महासचिव गौरव लिम्बुको सहजीकरणमा सम्पन्न भएको थियो।































