सुनसरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मनाही टोलबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सुनसरी कोशी गाउँपालिका–६ का २१ वर्षीय रामनाथ यादव र पछाडिबाट सवार भारत बिहारका १९ वर्षीय भुषण कुमार यादवको साथबाट झोलामा राखिएको १९ पोका गरी १९ किलोग्राम गाँजा बरामद भएको हो।
उनीहरूले बोकेको कालो झोलामा ८ पोका तथा लेग–गार्डमा झुण्ड्याइएको झोलामा ११ पोका फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित दुवै व्यक्ति र मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखी थप अनुसन्धान जारी रहेको छ।





























