बिर्तामोड, झापाको बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगर टोल सुधार समितिको बाह्रौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाको अवसरमा सोही टोल निवासी गायक संस्कार सापकोटालाई सम्मान गरिएको छ । 
समितिका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन बिर्तामोड नगरपालिका – ५ का वडा अध्यक्ष रोहित प्रसाईंले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रसाईंले वडा नम्बर ५ मा रहेका ४९ टोल सुधार ९विकास० समितिमध्ये बुद्धनगर टोल विकास निर्माण र सामाजिक कार्यमा अग्रसर रहँदै आएको उल्लेख गरे । उनले टोलमा सञ्चालित अधुरा योजनाहरू चाँडै सम्पन्न गरी बुद्धनगरलाई उदाहरणीय टोलका रूपमा विकास गर्न टोल पदाधिकारी र वडा कार्यालयबीच छलफल, सहमति र सहकार्य भइरहेको तथा वडाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
सभामा वडा सदस्य दुर्गाप्रसाद शिवाकोटी, बुद्धनगर महिला समूहकी अध्यक्ष अञ्जना प्रसाईं, सामाजिक व्यक्तित्व प्रेमकुमार श्रेष्ठ, लालीगुराँस टोलका अध्यक्ष कालीबहादुर कार्की, कृष्णनगर टोलका अध्यक्ष बलबहादुर श्रेष्ठलगायत विभिन्न तहगत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रसाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार टोलभित्र सामाजिक परिवेशमा आइपर्ने दुखद घटनामा सहयोग पुर्याउने उद्देश्यले आजीवन सदस्यको देहावसान हुँदा संस्कार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको जनाइएको छ । साथै टोल क्षेत्रभित्र कालोपत्रे र पेभर्स जडान कार्यमा टोलबासीले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
समारोहमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन कोषाध्यक्ष खेमनाथ मिश्रले प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार संस्थाको चालु सम्पत्ति १ करोड ५३ लाख ९ हजार ९ सय १० रुपैयाँ ०२ पैसा, सञ्चित कोष ५ लाख ९८ हजार २ सय ७३ रुपैयाँ ११ पैसा, अक्षय कोष १ करोड ३३ हजार ५ सय रुपैयाँ र कुल पूँजी तथा दायित्व १ करोड ६३ लाख ७ हजार ७ सय ७३ रुपैयाँ ११ पैसा रहेको छ ।
उक्त अवसरमा आजीवन सदस्य भरत सापकोटा र रत्ना ओझा सापकोटाका छोरा, सा रे ग म प लिटल च्याम्पियन २०२५’को फिनालेमा सेकेन्ड रनरअप बन्न सफल गायक संस्कार सापकोटालाई प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको हो । सम्मानित गायक सापकोटाले कार्यक्रममा राष्ट्रभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सहसचिव भीमकुमारी बिष्टले गरेकी थिइन् भने सञ्चालन सचिव देवीभक्त आचार्यले गरेका थिए ।































