झापा , तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिश स्कुलले आफ्नो शिक्षाको स्तर अन्तर्राष्ट्रिय बनाउने दिशामा ठूलो कदम चालेको छ। विद्यालयले नेपालका लागि आधिकारिक राष्ट्रिय सञ्चालकमार्फत बेलायतस्थित ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ सँग सम्झौता गरेको हो।
सम्झौतामा विद्यालयको तर्फबाट एकेडेमिक डाइरेक्टर भिक्टर इग्नेसियस जोसेफ र अवार्डको तर्फबाट नेशनल चेयर देव राज घिमिरे ले हस्ताक्षर गरे। यो सम्झौताले तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिश स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम संचालन गर्ने औपचारिक मान्यता दिएको छ।
बेलायतको शाही संरक्षणमा स्थापित यो अवार्ड विश्वभर १३० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको छ। विद्यार्थीहरूलाई नेतृत्व, आत्मविश्वास, सहनशीलता र सामाजिक उत्तरदायित्व विकास गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
विद्यालयका एक अधिकारीले भने, “यस साझेदारीले हाम्रा विद्यार्थीहरूलाई जिम्मेवार, सक्षम र आत्मविश्वासी विश्व नागरिक बनाउनेछ। उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि सफल हुन सक्नेछन्।”
कार्यक्रम चार खण्डमा संरचित छः सीप विकास, शारीरिक गतिविधि, स्वैच्छिक सेवा र साहसिक यात्रा। यी अभ्यासहरूले विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछन्।
यो साझेदारीले तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिश स्कुललाई पूर्वी नेपालको अग्रणी शिक्षण संस्था मात्र होइन, अन्तर्राष्ट्रिय मान्यतासँग जोडिएको विश्वस्तरीय विद्यालयको रूपमा स्थापित गर्नेछ।































