- चक–डस्टरभन्दा परको पढाइ : शैक्षिक प्रदर्शनीमा झल्कियो सृजनशील सिकाई
सुरेन्द्र भण्डारी
झापा । किताबी घेराबाट सिकाइलाई बाहिर निकाल्दै व्यवहारसँग जोड्ने उद्देश्यले बिर्तामोड नगरपालिका–७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलले आयोजना गरेको शैक्षिक प्रदर्शनीले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकैसाथ जोड्न सफल भएको छ ।
विद्यालयमा बुधबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रममा आधारित रहेर तयार पारेका विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० भन्दा बढी परियोजनात्मक तथा प्रयोगात्मक सामग्री प्रदर्शनीमा राखेसंगै विद्यार्थी, शिक्षक र अभिभावकलाई एकैसाथ जोड्न सफल भएको हो । यसलाई विद्यालयले सिकाइ उपलब्धिको महत्वपूर्ण आधारका रूपमा लिएको विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईले बताएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यार्थीले विद्यालयमा सिकेको किताबी ज्ञानलाई व्यवहारमा उतारेर अभिभावकसमक्ष प्रस्तुत गर्न सफल भएको देख्दा आफू खुशी बनेको बताइन् । ‘सिकाइलाई अभ्याससँग जोड्दा विद्यार्थीले जीवनभर नबिर्सने ज्ञान हासिल गर्छन्’ उनले भनिन् – यस्ता कार्यक्रमले विद्यार्थी मात्र होइन, शिक्षकका लागि पनि दोहोरो सिकाइको अवसर हुन्छ ।’ उनले कार्यक्रमलाई फलदायी र प्रेरणादायी भन्दै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् ।
बिर्तामोडका अन्य विद्यालयले पनि सिकाईलाई थप प्रभावकारी बनाउन यस खाले कार्यक्रम आयोजना गर्न सुझाव दिइन् । विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलाव गर्दा कितावी ज्ञानसंगै व्यवहारिक ज्ञान सिकाउन आग्रह गर्दै बेल्स मोडल स्कूलको यो परियोजना गुणस्तरीय रहेको भन्दै प्रशंसा गरिन् ।
शैक्षिक प्रदर्शनी केवल सामग्री प्रदर्शनको कार्यक्रम नभई विद्यार्थीको सोच्ने तरिका, समस्या समाधान क्षमता र सृजनशीलताको उत्सव बनेको सहभागीहरूको निष्कर्ष छ । कक्षा बाहिरको यो कक्षाले सिकाइलाई अझ अर्थपूर्ण बनाएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताएका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल प्रसाईंले परियोजनामुखी सिकाइ बिना शिक्षा अधुरो हुने धारणा राखेका छन् । हामीले सिकाइलाई पाठ्यपुस्तकबाट बाहिर निकाल्ने प्रयास गरेका छौं, उनले भने, – विद्यालयमा सिकेको ज्ञान विद्यार्थीले जीवनमा कसरी प्रयोग गर्न सक्छन् भन्ने नवीन उपाय खोजिरहेकै छौं। उनले यो शैक्षिक प्रदर्शनी विद्यालयले हरेक वर्ष निरन्तर गर्ने प्रतिबद्धता समेत जनाए ।
बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीले शैक्षिक प्रदर्शनीमार्फत विद्यालयले पढाइने सबै विषयवस्तुलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्न सफल भएको बताएका छन् । अबको शिक्षा घोकन्ते होइन, अभ्यासमा आधारित हुनुपर्छ, उनले भने, – यस्तो वातावरण विद्यालयले बनाउँदै जानु खुशीको कुरा हो । यस्ता कार्यक्रमले विद्यार्थीलाई लगनशील, सृजनशील र सिकाइप्रति रुचिशील बनाउँदै दिगो सिकाइ व्यवस्थापनमा टेवा पु¥याउँछन्।
कार्यक्रमका विशिष्ठ अतिथि प्याब्सन झापाका अध्यक्ष छत्र वहादुर कार्कीले कार्यक्रमलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी भएको बताएका ।
विद्यार्थीले छिट्टै सिक्ने र कहिल्यै नबिर्सने बानीको विकास यस्तै कार्यक्रमबाट सम्भव हुन्छ, उनले भने – प्याब्सन झापाले पनि यस खाले कार्यक्रमलाई अनुसरण गर्नेछ । विश्व बजारमै प्रयोगात्मक र परियोजनामुखी सिकाइको माग बढ्दो रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले बेल्स मोडल स्कूलले आयोजना गरेको कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकलाई एउटै थलोमा उभ्याएको बताए ।
प्रदर्शनीमा ११ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए भने कक्षा ९ र १० का विद्यार्थीले विशेष रूपमा अवलोकन गरेका थिए । उत्कृष्ट पाँच परियोजनालाई पुरस्कृतसमेत गरिएको विद्यायका संस्थापक प्रिन्सिपल प्रसाईले बताए । नगरका अन्य १० विद्यालयका विद्यार्थी र अभिभावकले पनि प्रदर्शनी अवलोकन गरेका थिए । विद्यालयका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा सदस्य लक्ष्मी खतिवडा, निशा फाउण्डेशनका संरक्षक विष्णु भेटवाललगायतको उपस्थिति थियो ।
कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुँदै आएको बेल्स मोडल स्कूलमा हाल करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् भने ७५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।
यस कारण उत्कृष्ट बन्यो शैक्षिक प्रर्दशनी
कक्षा कोठाभित्र सीमित हुने सिकाइलाई व्यवहारमा उतार्ने उद्देश्यसहित आयोजना गरिएको शैक्षिक प्रदर्शनीले विद्यालय शिक्षाको सार्थकता झल्काएको देखाइएको थियो । प्रर्दशनीस्थल पुग्नासाथ विषयगत जानकारी सहितको चार्ट प्रस्तुत गरेर विद्यार्थीले आ आफ्नो स्टलबाट आफूले सिकेको सिकाई उपलब्धिलाई व्यवहारामा उतार्दै बनाएको आएका आगन्तुकलाई प्रस्तुतिसहित देखाएका थिए । जसका कारण विद्यार्थीका सिर्जनात्मक क्षमता, अनुसन्धानशील सोच र प्रस्तुति कौशललाई उजागर गर्ने यो प्रदर्शनी सशक्त माध्यम बनेको प्याव्सन झापाका उपाध्यक्ष हरिकृष्ण पाठकको भनाई छ ।
विद्यार्थीले विज्ञान खण्डमा दैनिक जीवनसँग जोडिएका प्रयोगात्मक परियोजना प्रस्तुत गरेका थिए । नवीकरणीय ऊर्जाका नमूना, पानी शुद्धीकरणका सरल प्रविधि, वनस्पति जीवनचक्र तथा भूकम्प प्रतिरोधी संरचनाका मोडलहरू तयार पारेर प्रस्तुत गरेका थिए । उनीहरुले आएका आगन्तुक र आफ्ना अभिभावकहरुलाई किन र कसरी भन्ने जिज्ञासाका उत्तरसमेत सहजै दिएका थिए ।
गणित खण्डको प्रर्दशनीमा बसेकाविद्यार्थीले अंक र सूत्र मात्र होइन, तर्क र समाधानमुखी सोचलाई प्राथमिकता दिएका थिए । दैनिक कारोबार, समय व्यवस्थापन, क्षेत्रफल–आयतन गणना, सम्भाव्यता र तथ्यांकका सरल मोडलमार्फत गणित व्यवहारसँग कसरी जोडिन्छ भन्ने स्पष्ट देखाएका थिए ।
अंग्रेजी विषयमा विद्यार्थीको भाषा प्रयोग र प्रस्तुति क्षमता मुख्य आकर्षण बनेको थियो । उनीहरुले अतिथिले सोधेका प्रश्नको जवाफ सहज र सरल रुपमा प्रस्तुत गर्दै विद्यालयले सिकाइका चरणमा पु¥याएको योगदानको चर्चा गरेका थिए । विद्यार्थीले आफ्नो विचार स्पष्ट र आत्मविश्वासका साथ राखेका थिए । सुनाइ, बोलाइ, पढाइ र लेखाइ—चारै सीपलाई सन्तुलित रूपमा अभ्यास गराइएको देखिन्थ्यो, जसले अंग्रेजीलाई परीक्षामुखी होइन, संचारमुखी विषयका रूपमा स्थापित गरेको देखिन्थ्यो ।
नेपाली खण्ड प्रस्तुतिका लागि बसेका विद्यार्थीले आफ्नो आनीबाची र आचरण झल्कने प्रस्तुति दिँदै भाषा र संस्कृतिको समेत व्याख्या गरेका थिए । निबन्ध, कथा, कविता, लोकसाहित्य र मौखिक प्रस्तुति मार्फत विद्यार्थीले आफ्ना विचार र अनुभूति सशक्त रूपमा व्यक्त गरेका थिए। व्याकरणिक शुद्धता, सिर्जनात्मक लेखन र मौलिक प्रस्तुतिले मातृभाषाप्रतिको सम्मान र आत्मपहिचानलाई बलियो बनाएको देखियो । वर्ण विन्यास, इतिहास आदिका विषयमा समेत विद्यार्थीले प्रयोगात्तमक रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी अधिकांश अभिभावक र अतिथिहरुले शैक्षिक प्रदर्शनी केवल प्रदर्शनी मात्र नभई सिकाइको साझा उत्सव बनेको धारणा राखेका थिए । विद्यार्थी–शिक्षक–अभिभावकबीचको अन्तरक्रिया, प्रश्नोत्तर र प्रत्यक्ष अवलोकनले विद्यालय शिक्षालाई अझ जीवित बनाएको उनीहरुको तर्क छ ।
पाठ्यपुस्तकभन्दा बाहिर गएर सिक्ने यस्ता अभ्यासले विद्यार्थीलाई जिज्ञासु, आत्मनिर्भर र सिर्जनशील नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको अभिभावकसमेत रहेका सञ्चारकर्मी रञ्जित प्रसाईले बताएका छन् ।





























