कोशीमा दुर्घटना न्यूनीकरण अभियान

0
30

सुनसरी ।

ट्राफिक व्यवस्थापन सुदृढ गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न नियन्त्रणात्मक तथा सचेतनामूलक कार्यहरू सञ्चालन गरेको छ ।

कार्यालय तथा मातहतका इकाइहरूबाट दैनिक रूपमा सवारी साधनको अनुगमन तथा चेकजाँच तीव्र पारिएको छ । यस अवधिमा भाडादर सूची अनुगमन तथा चेकजाँच (भाडादर टाँस) सहित ५ हजारभन्दा बढी सवारी साधनको निगरानी गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रेसर हर्न प्रयोग नियन्त्रण तथा कारबाही गरिएको छ । अनावश्यक हर्न प्रयोग गर्ने ६ सयभन्दा बढी सवारी साधनमाथि कारबाही गरिएको जनाइएको छ । त्यसैगरी ढोका खुला गरी सञ्चालन गर्ने सवारी साधनलाई अनिवार्य ढोका बन्द गरी चलाउन निर्देशन दिई अनुगमन तथा कारबाही गरिएको छ ।

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने (ध्वनि प्रदूषण गर्ने) मोटरसाइकलको विशेष निगरानी गर्दै साइलेन्सर पाइप परिवर्तन गराइएको छ । यस क्रममा २ सयभन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । अवस्था ठीक नभएका अटो, टेम्पो तथा सिटी सफारी सवारी साधनको चेकजाँच गरी मर्मत गर्न लगाइएको छ । चार हजारभन्दा बढी सवारी साधन जाँच गरिएकोमा एक सयभन्दा बढी सवारी साधनको अवस्था सुधार गराइएको छ ।

सडकमा सवारी बिग्रिएर वा अवरोध सिर्जना भएको अवस्थामा बोर्ड राख्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ । यस्ता स्थानमा युनिफर्मसहित ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकबिरुद्ध विशेष चेकजाँच तथा कारबाही गरिएको छ ।

यस अवधिमा २ हजारभन्दा बढी सवारी साधन जाँच गर्दा उल्लेख्य संख्यामा चालक कारबाहीमा परेका छन् । कारबाहीबाट ११ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हराएका तथा चोरी भएका सवारीसाधन खोजतलासका क्रममा बोलेरो जिप ५ थान र मोटरसाइकल एक थान फेला पारिएको छ । सम्बन्धित धनीलाई बुझाइएका ती सवारीमध्ये केही अनुसन्धान प्रक्रियामा रहेको जनाइएको छ ।

लागूपदार्थ सेवन चेकजाँच कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र कोशी प्रदेश प्रहरी अस्पतालको सहकार्यमा चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा केही चालक तथा सह–चालकमा लागूपदार्थ सेवन पुष्टि भएपछि थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

यस्तै, मोरङको बुढिगंगा गाउँपालिका–नेमुवामा गरिएको चेकजाँचमा पनि चालक तथा सहचालकमा लागू पदार्थ सेवन पुष्टि भएपछि कानूनी प्रक्रिया अघि बढाइएको छ । ट्राफिक प्रहरीले निःशुल्क आँखा जाँच शिविरसमेत सञ्चालन गरेको छ । चालक–परिचालक लक्षित शिविरमा चार सयभन्दा बढीको आँखा परीक्षण गरिएकोमा केही चालकमा मोतियाबिन्दुको समस्या देखिएको जनाइएको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन कायम र सुरक्षित यातायात प्रवद्र्धनका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here