चार आदर्श अभिभावक सम्मानित

0
64

झापा , स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ।

शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालय, शिवगञ्जमा आयोजित कार्यक्रममा शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई नगदसहित आदर्श अभिभावक सम्मान प्रदान गरिएको हो।
कोशी प्रदेशको सुनसरी जिल्ला सदरमुकाम इनरुवामा लामो समय बिताएका स्व. प्रजापति देव ढुंगेल र स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले जेष्ठ नागरिकप्रतिको सम्मानस्वरूप कार्यक्रम आयोजना गरेको जनाएको छ।
समाजमा रहेका कर्तव्यनिष्ठ, इमानदार र जिम्मेवार अभिभावकलाई पहिचान गरी आदर्श अभिभावक सम्मान प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलले जानकारी दिए। उनका अनुसार स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, व्यक्तित्व र सरल स्वभावका कारण परिवार, सन्तान र समाजमा परेको प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो । सोही लक्ष्यअनुसार पहिलो चरणमा सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए।
प्रतिष्ठानले हरेक वर्ष पुस ९ गते स्व. श्यामदेव ढुंगेलको जन्मदिन तथा पुण्यतिथिका अवसरमा झापा र सुनसरीका विभिन्न विद्यालयमा आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
सम्मान कार्यक्रमका लागि झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जन आदर्श उच्च माध्यमिक विद्यालय तथा सुनसरीको इनरुवा नगरपालिकास्थित श्री देवकोटा प्राथमिक विद्यालय र भगवती माध्यमिक विद्यालय छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । ती विद्यालयमा स्व. श्यामदेव ढुंगेलका छोराहरू रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा हासिल गरेका कारण पहिलो चरणमा ती विद्यालयका अभिभावकलाई सम्मान गरिएको हो ।

कार्यक्रम शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो। विद्यालयका शिक्षक भक्तिप्रसाद काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा तीन अभिभावक सिफारिस समितिबाट र एक अभिभावक दाताको परिवारको सिफारिसमा चयन गरिएको जनाइएको छ।
प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलका अनुसार कार्यक्रमलाई नियमित बनाउन ढुंगेल परिवारले निश्चित रकम स्थानीय वित्तीय संस्थामा अक्षयकोषका रूपमा राख्ने र सो को ब्याजबाट झापा र सुनसरीका तोकिएका विद्यालयमा बर्सेनि कार्यक्रम आयोजना गरिनेछ।
सम्मान कार्यक्रमकै अवसरमा शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष मनोज कार्की प्रमुख अतिथि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here