प्रविधिको तीव्र विकाससँगै पठन संस्कृतिमा गम्भीर गिरावट – सिवाकोटी

0
56

विराटनगर,  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ का केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका सिवाकोटीले प्रविधिको तीव्र विकाससँगै पठन संस्कृतिमा गम्भीर गिरावट आएको बताएका छन्।

महासङ्घको मोरङ १९ औँ वार्षिक साधारण सभा र दशौँ जिल्ला अधिवेशन उद्घाटन पछिको मन्तव्यमा उनले यस्तो बताए । उनले भने, यही अवस्था निरन्तर रहिरहे अबका केही वर्षमा पुस्तक पसल मात्र होइन, विद्यालयसमेत खाली हुने जोखिम छ । उनले पठन संस्कृतिको संरक्षणका लागि राज्य, शैक्षिक संस्था र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ मोरङको १९औँ वार्षिक साधारण सभा तथा दशौं जिल्ला अधिवेशन विराटनगरस्थित होटल महेन्द्रमा आइतबार सम्पन्न भएको हो। अधिवेशनले संगठनको वार्षिक समीक्षा गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ।
महासङ्घ मोरङका अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, महासङ्घका पूर्व केन्द्रीय महासचिव रामदेव पाण्डे, शिक्षा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल, महासङ्घ झापाका अध्यक्ष विनोद सापकोटा, जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापा तथा विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख राम ढुंगेल, विराटनगर प्याप्सनका अध्यक्ष अर्जुन श्रेष्ठ ले पठन संस्कृतिको विकासका लागि पुस्तक व्यवसायीले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका थिए।
उनीहरूले भने सरकारको शिक्षा शाखा, शैक्षिक संस्था र व्यवसायी एक अर्काका परिपूरक हुन् । पुस्तक व्यवसायी नरहे शैक्षिक संस्था रहँदैन। शैक्षिक संस्था नरहे पुस्तक व्यवसायी रहँदैन । त्यसैले व्यवसायी र शैक्षिक प्रतिष्ठान एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए।
कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापाले केन्द्रमा हाल ७५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको जानकारी गराउँदै निजी प्रकाशनलाई छाप्न नदिइएका पाठ्यपुस्तक तथा सामग्री व्यवसायीले केन्द्रबाटै खरिद गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारे।
महासङ्घ झापाका अध्यक्ष बिनोद सापकोटाले विद्यालय हाताभित्रैबाट पाठ्यसामग्री विद्यार्थीका हातमा बिक्री–वितरण गर्नु गैरकानुनी रहेको बताउँदै यसले व्यवसायी, बजार प्रणाली र पठन संस्कृतिलाई नकारात्मक असर पार्ने धारणा राखे। उनले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
अधिवेशनका अवसरमा पुस्तक तथा स्टेसनरी व्यवसायमा योगदान पुर्‍याएका तीन जना व्यवसायीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा मिलन लम्साल, सक्रिय व्यवसायी चुडामणि घिमिरे र ओमप्रकाश उप्रेती रहेका छन्। सम्मानित व्यक्तिहरूले व्यवसायको संरक्षण र पठन संस्कृतिको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनले आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।
महासङ्घको अध्यक्षमा दुर्गा प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा शुसिल घिमिरे र नरेश माझी, सचिवमा माधव प्रसाद बराल, सह–सचिवमा विक्की मित्तल तथा कोषाध्यक्षमा प्रमोद बिस्वास चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास गोयल, शैलेन्द्र घिमिरे, मुकेश प्रसाद दुलाल, भूपराज निरौला, योगेन्द्र संग्रौला, मित्र प्रसाद अधिकारी, रुपेश झा र नवराज भट्टराई चयन भएका छन्।
अधिवेशनले संगठनात्मक सुदृढीकरण, व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here