बिर्तामोड १० लाई वडास्तरीय फुटबलको उपाधि

0
69

बिर्तामोड । बिर्तामोडमा सम्पन्न छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. १० ले वडा नं. ३ लाई गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नं. १० ले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । वडा नं. ३ ले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडा नं. १० का तर्फबाट सुजन लिम्बु र घनश्याम कार्कीले गोल गर्न सफल भएभने वडा नं. ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल गरेका थिए ।

फाइनल खेलका प्लेयर अफ द म्याच आरके कन्दङवा भए । उनले नगद १ हजार ५०० रुपैयाँ पाए ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा नं. १० का सौरभ लिम्बु भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट गोल किपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्ड उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू र उत्कृष्ट कोच सुरेन तुम्रोक भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, वडाध्यक्षहरु मदन बुढाथोकी, अविरल कृष्ण खरेल, सुर्य कन्दङवा, दुर्योधन गुरुङ लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाका खेलाडिको सहभागिता रहेको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिले हरेक बर्ष क्यालेन्डरमा राखेर वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको सचिव विसन लिम्बुले जानकारी दिए ।

हरेक वर्ष क्यालेण्डर अनुसार खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

भेट्रान्सको उपाधि पनि वडा नं. १० ले जित्यो

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ ।

उपाधिसँगै बिर्तामोड–१० ले २५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपपिजेता बिर्तामोड–५ ले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

अइतबार सहिद नेत्र पार्कको खेल मैदानमा आयोजित फाइनलमा वडा नं. १० ले वडा नं. ५ लाई ३–० ले पराजित गरेको हो । वडा नं. १० का लागि महेश राईले दुई र दिलेन लोक्तामले १ गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच बिर्तामोड–१० का महेश राई भए उनले नगद १५ सय रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको थियो । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबारको फाइनलसँगै समापन भएको खेलकुद समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here