योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङमा हवाई फायर गरी एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गर्दै हवाई फायर गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा गएराती केराबारी गाउँपालिका-५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरिगढी-२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय केराबारीका असई फजिन्द्र तोलाङ्गीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेका थिए। एम्बुलेन्ससहित भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
दुई दिन अघि मात्र हवाई फायर गरेर प्रहरीले मोरङको जहदा गाउँपालिका-२ स्थितबाट ३३० किलोग्राम लागू औषध गाँजा सहित भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन।
बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ। प्रदेश प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।































