काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर बलजफती लुटपाट, दुःख हैरानी र अभद्र व्यवहार गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस क्षेत्रमा यस्ता गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २८ वर्षीय अमृत खड्का, पर्सा बहुदरमाई नगरपालिका विश्रामपुरका १९ वर्षीय अकलेश साह र ३१ वर्षीय दिनेश पटेल, काभ्रेपलान्चोक रोशी गाउँपालिका–६ का १९ वर्षीय सुजन तामाङ रहेका छन्।
यस्तै रोल्पा माडी गाउँपालिका–५ का २२ वर्षीय प्रविन ओली, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–७ का १९ वर्षीय रोजन तामाङ, कञ्चनपुर कृष्णपुर नगरपालिका–६ का २१ वर्षीय जितेन्द्र सिंह वि.क. पनि पक्राउ परेका छन्।
धनकुटा नगरपालिका–३ कागतेका २५ वर्षीय रोशनी राई, झापा भद्रपुर नगरपालिका–९ का २६ वर्षीय तिर्थ राजवंशी, उदयपुर त्रियुगा नगरपालिका–९ की रचना मगर, सुर्खेत चौकुने गाउँपालिका–८ की २१ वर्षीया जेनिसा थापा र झापा काकडभिट्टा नगरपालिका–३ की ३० वर्षीया संगिता तामाङ पनि नियन्त्रणमा परेका छन्।






























