झापा । नजिकिँदै गरेको नेपाल उद्योग बाणिज्य महासंघको चुनावको तयारीका बीच, छुर्पी व्यवसायी संघको सभामा व्यवसायी नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।
शनिबार धुलाबारीस्थित होटल रोयल निर्माणको सभाहलमा सम्पन्न नेपाल छुर्पी व्यवसायी संघको वार्षिक साधारण सभामा उद्योग–व्यवसायका नेताहरूले आगामी महासंघको चुनावमा उठ्ने तयारीको संकेत दिएका थिए। महासंघको चुनाव आगामी चैत २८ र २९ गते हुँदैछ।
सभाका प्रमुख अतिथि तथा वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल स्वयं वरिष्ठ उपाध्यक्षमा दावेदारी गर्ने तयारीमा रहेको जानकारी दिइएको थियो।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले फेरि त्यही पदमा उम्मेदवारी दिने बताउनुभयो। यसैगरी, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का र उमेश डालमियाले उपाध्यक्षका लागि, केन्द्रीय सदस्य कमला श्रेष्ठले महिला उपाध्यक्षमा, केन्द्रीय सदस्य लिलेन्द्र प्रधानले फेरि त्यही पदमा, कार्गो व्यवसायी संघका अध्यक्ष राजेन्द्र संग्रौलाले केन्द्रीय सदस्यमा र छुर्पी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई र अन्य व्यवसायीहरूले कर, भ्याट, भन्सारलगायत व्यवसायीका विभिन्न समस्याहरु सुनुवाइ नभएको गुनासो व्यक्त गरे।
महासंघमा आबद्ध छुर्पी व्यवसायीसहित १८ वटा संघ–संस्थालाई अदालतले सदस्य बन्न रोकेको छ। प्रमुख अतिथि ढकालले भने, “ती संस्थाको समस्या चुनाव अघि समाधान गरेर जाने व्यवस्था गर्नेछौं।”
छुर्पी व्यवसायी संघलाई सरकारले उत्कृष्ट निर्यात व्यवसायीको मान्यता पनि दिएको छ। संघका अध्यक्ष रेशमबहादुर पोखरेलका अनुसार, पशुको आहारका रूपमा अमेरिकामा ‘हिमालयन डगच्यू’का लागि छुर्पी निर्यात हुँदै आएको छ। उनका अनुसार अमेरिका, युरोप, चीन, भारत लगायतका देशमा निर्यातको तयारी भइरहेको छ। संघले कोशी प्रदेशको दुधजन्य पदार्थ उत्पादनको करिव ८० प्रतिशत हिस्सा छुर्पी उत्पादनमा योगदान गर्ने गरेको छ।
कार्यक्रमको स्वागत संघका अध्यक्ष पोखरेलले गरे भने समापन वरिष्ठ उपाध्यक्ष नरेशलाल श्रेष्ठले धन्यवादसहित, सहजीकरण मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए।































