नेपाली काँग्रेस पार्टी र सरकारमा ४० प्रतिशत युवा सहभागीताको माग

0
153

झापा, नेपाली कांग्रेसमा आबद्ध ४० वर्षमुनीका युवाहरूले पार्टीका सबै तह तथा संघ, प्रदेश र स्थानीय सरकारमा कम्तीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।

तस्बीर – एलएक्स मैनाली ।


झापाको बिर्तामोडस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित ४० वर्षमुनीका युवाहरूको जिल्लास्तरीय भेलाले अवधारणापत्र पारित गर्दै पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।
भेलामा प्रस्तुत अवधारणापत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमेरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध संगठित खबरदारी गर्ने, पारदर्शिता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने एजेन्डा समेत अवधारणापत्रमा समेटिएको छ ।


भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौति, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको थियो । छलफलपछि भेलाले अवधारणापत्र सर्वसम्मत रूपमा पारित गर्दै पार्टी नेतृत्वलाई औपचारिक रूपमा माग पेश गर्ने निर्णय गरेको छ ।

४० वर्षमुनीका युवाहरूको उक्त भेलाको संयोजन मिलन चापागाईंले गरेका थिए । चापागाईंको अध्यक्षता र गोकुल पौडेलको सहजीकरणमा सम्पन्न भेलामा सञ्जय निरौला, बालकृष्ण निरौला, डिल्ली भट्टराई, भाष्कर भट्टराई, अनुप शिलवाल, मनिस गहतराज, इशान ढकाल, विवेक ढकाल, विश्व सुवेदी, उपेन्द्र बस्नेत, प्रकाश निरौला, राजेन्द्र उप्रेती लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको धारणा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here