सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश कार्य समितिले विद्यालय शिक्षाको नवीकरण तथा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारे नेसनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यालय संस्थापक, प्रधानाध्यापक, उप–प्रधानाध्यापक, निर्देशक, विद्यालय नेतृत्व तथा इन्चार्जहरूलाई एक दिने प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ।
नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालका अनुसार विद्यालयको शैक्षिक, व्यवस्थापकीय र भौतिक पक्षमा प्रत्यक्ष देखिने सकारात्मक परिवर्तन ल्याउने, शिक्षक, प्रधानाध्यापकको क्षमता अभिवृद्धि गर्ने ,सिकाइ उपलब्धि, विद्यालय वातावरण र समुदाय सहभागिता सुधार गर्ने प्रशिक्षणको मुख्य उदेश्य रहेको बताए।
नेसनल प्याब्सन कोशी प्रदेशको आयोजना तथा नेसनल प्याब्सन सुनसरी अध्यक्ष खगेन्द्र केसीको सहआयोजनामा हुन् लागेको कार्यक्रममा शैक्षिक पक्ष : कक्षाकोठामा सक्रिय सिकाइ, निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी प्रयोग,विद्यार्थीको उपस्थिती र सिकाइ उपलब्धि वृद्धि गर्ने रहेको भने व्यवस्थापकीय पक्षमा विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयन,शिक्षक समयपालन र उत्तरदायित्व र अभिलेख तथा सूचना व्यवस्थापनमा सुधार गर्ने उदेश्य रहेको कार्यबाहक अध्यक्ष खनालले बताए।
प्रशिक्षण कार्यक्रम आगामी माघ ३ गते शनिबार बिहान ८ बजेदेखि सुनसरीको इनरुवा नगरपालिका –३ स्थित ओम साईराम पार्टी प्यालेसमा हुनेछ भने शैक्षिक प्रशिक्षणको रुपमा मनोवैज्ञानिक इन्द्र कुमार प्रसाई र पेडागोजी विशेषज्ञ अब्देश केसी रहेका छन्।
विद्यालय शिक्षाको पुनर्आविष्कार र रूपान्तरण केवल विकल्प होइन, आवश्यकता हो। यसले विद्यार्थीलाई परीक्षामा मात्र होइन, जीवनमा सफल हुन सक्षम नागरिक बनाउँछ। आजको विद्यालय भनेको भोलिको समाज निर्माण गर्ने आधार हो, त्यसैले शिक्षा प्रणालीलाई समयसापेक्ष, समावेशी र भविष्य–मुखी बनाउनु हाम्रो साझा जिम्मेवारी हो।
कार्यबाहक अध्यक्ष खनाल नेतृत्वमा आएसँगै नेसनल प्याब्सन कोशी प्रदेश चलायमान हुँदै गएको छ। गत महिना मात्र नेसनल प्याब्सन कोशी प्रदेश मोरङको सुन्दरहरैंचा -१२ मा रहेको श्री इन्द्रपुर इंग्लिस स्कुलमा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गरिसकेको छ।






























