महानायक राजेश हमाल भन्छन्: `देश बनाउन नेता मात्र होइन, जनता पनि जिम्मेवार हुनुपर्छ´

0
25

बिर्तामोड ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले राष्ट्र निर्माण र समृद्धिका लागि केवल नेतृत्वलाई मात्र दोष दिएर उम्कन नपाइने बताएका छन्। विर्तामोडस्थित इष्टर्न सहारा कम्पनीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले देशको भविष्य निर्माणमा आम नागरिकको भूमिका र जिम्मेवारी निर्णायक हुने उल्लेख गरे।

​साधारण सभालाई सम्बोधन गर्दै हमालले अहिलेको परिस्थितिमा सबैभन्दा शक्तिशाली तत्व नेपाली जनता नै रहेको बताए। `अहिले बल जनताको कोर्टमा छ,´उनले भने,`निर्वाचनको समयमा हामीले गर्ने एउटा निर्णयले आगामी पाँच वर्षको भविष्य तय गर्छ। त्यसैले आफ्नो शक्तिको प्रयोग गर्दा अत्यन्तै जिम्मेवार र सचेत हुन आवश्यक छ।´

​विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनलेे भोट दिएर शक्ति हस्तान्तरण गरिसकेपछि गुनासो गर्नुभन्दा निर्णय लिनुअघि नै विवेक पुर्‍याउनु पर्ने सुझाव दिए।
चिनियाँ नेता देङ सियाओपिङको प्रसिद्ध भनाइ `बिरालो कालो होस् वा सेतो, मुख्य कुरा त्यसले मुसा मार्नुपर्छ´ भन्ने उदाहरण दिँदै हमालले व्यवस्था वा परिस्थितिलाई दोष दिएर हात बाँधेर बस्न नहुने बताए। उनले भने `हाम्रो सरकार ठीक छैन वा परिस्थिति अनुकूल छैन भनेर हतोत्साहित हुनुहुँदैन। चुनौतीकै बीचबाट बाटो खन्दै अगाडि बढ्नु नै वास्तविक उर्जाशील नागरिकको पहिचान हो।´

​अन्तर्राष्ट्रिय सम्बन्धको तितो यथार्थ खोल्दै हमालले कुनै पनि राष्ट्रले अर्को राष्ट्रलाई वास्तविक दया वा माया नगर्ने टिप्पणी गरे। `सिनेमा हल वा बसमा जाँदा आफ्नो सामानको सुरक्षा आफैँ गर्नुस् भनेझैँ, देशको विकास र सुरक्षाको जिम्मा पनि हामी आफैँले लिनुपर्छ,´ उनले भने, `छिमेकी वा शक्तिशाली राष्ट्रले हामी उन्नत भएको देख्न चाहँदैनन्, त्यसैले हामी आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ।´

​नयाँ आउने नेतृत्वले `विगतमा केही भएन´ भन्दै सस्तो लोकप्रियता कमाउन खोजेको प्रति व्यङ्ग्य गर्दै हमालले स्पष्ट कार्ययोजनाको माग गरे। शिक्षा, स्वास्थ्य, र पूर्वाधार जस्ता क्षेत्रमा रहेका समस्याहरूलाई रातारात जादुमयी ढंगले परिवर्तन गर्छु भन्नु भन्दा पनि, ती समस्या समाधानका लागि पहिलो खुड्किलो के हुने र ५ देखि ५० वर्षसम्मको योजना के छ भन्ने कुरामा स्पष्टता खोज्न उहाँले जनतालाई आग्रह गरे।

​कार्यक्रममा इष्टर्न सहारा कम्पनीका शेयरधनी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here