भद्रकालीमा पूर्व शिक्षकलाई विद्यार्थीबाट सम्मान

0
50

गौरादह । भद्रकाली माध्यमिक विद्यालय, गौरादह–५ झापाका पूर्व शिक्षक–शिक्षिकालाई उनीहरूकै विद्यार्थीले सम्मान गरेका छन् । वि.सं. २०५४ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले राष्ट्रिय एकता दिवसको अवसर पारेर २८ वर्षपछि शिक्षक–विद्यार्थी भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरी आफ्ना गुरु–गुरुआमालाई सम्मान गरेका हुन् ।

गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र संगौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक दिननाथ भण्डारी, सह–प्रधानाध्यापक प्रियविक्रम आङदेम्बे लगायत अध्यापन गराएका शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाइ, मायाको चिनो र उपहारसहित सम्मान गरिएको थियो ।

सम्मानित शिक्षकहरूमा टंकबहादुर केसी, नरबहादुर कार्की, डिल्लीराम चुडाल, बालेश्वर झा, हरि पाठक, रेवलाल श्रेष्ठ, रामप्रसाद संगौला, टंक पाठक, खड्गप्रसाद सिटौला, हरिश्चन्द्र राजवंशी, केशवचन्द्र शर्मा, देवी भण्डारीलगायत डेढ दर्जन शिक्षक–शिक्षिका रहेका थिए ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै शिक्षक–शिक्षिकाहरूले २०५४ ब्याचका विद्यार्थीप्रति आशीर्वाद र धन्यवाद व्यक्त गर्दै उनीहरूको प्रगतिप्रति खुशी प्रकट गरे । विभिन्न क्षेत्रमा विद्यार्थीहरूले पुर्‍याइरहेको योगदानले आफूहरू गौरवान्वित भएको उल्लेख गर्दै उनीहरूले यस कार्यक्रमलाई जीवनकै अविस्मरणीय, ऐतिहासिक र गर्व गर्न लायक क्षणको रूपमा स्मरण गरे । शिक्षकहरूले विद्यालय जीवनका स्मरणीय पल र अवकाशपछिको अनुभव पनि सहभागीहरूसँग साझा गरेका थिए ।

कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी योगेश आचार्यले गरेका थिए भने पूर्व विद्यार्थी विमल दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । पूर्व विद्यार्थीहरू संजीव चापागाईं, मुना विमली पौड्याल, योगेश आचार्य, विमल दाहाल, सुभाष चुडाललगायतले जहाँ–जहाँ र जुनसुकै पेशा तथा जिम्मेवारीमा पुगे पनि त्यसको बलियो जग भद्रकाली माविको शिक्षा, संस्कार र अनुशासन भएको बताए । शिक्षक सम्मान केवल औपचारिक कार्यक्रम नभई कृतज्ञताको जीवन्त अभिव्यक्ति भएको उनीहरूको भनाइ थियो ।

२०५४ ब्याचसहित भद्रकाली माविका पूर्व विद्यार्थीहरूको समूहको पहलमा आयोजना गरिएको कार्यक्रममा ४२ जना पूर्व विद्यार्थीको आर्थिक सहयोग रहेको आयोजक समितिका संयोजक योगेश आचार्यले जानकारी दिए । पाठ्यपुस्तकको ज्ञान मात्र होइन, जीवन जिउने कला, नैतिकता, अनुशासन र जिम्मेवारी सिकाउन शिक्षकहरूको भूमिका निर्णायक रहने उनले बताए ।

विद्यालयका प्रधानाध्यापक रेवलाल श्रेष्ठका अनुसार पूर्व विद्यार्थीहरूले शिक्षक सम्मानसँगै बालमैत्री कक्षाकोठा व्यवस्थापन, सहज बैठक कोठा तथा स्वच्छ खानेपानी व्यवस्थापनमा समेत योगदान गरेका छन् । यसले वर्तमान विद्यार्थीहरूको सुरक्षित, स्वस्थ र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्व विद्यार्थी मुना विमली पौड्यालले गुरुहरूको जीवनोपयोगी शिक्षाकै कारण आज आफूहरू सफल हुन सकेको उल्लेख गर्दै सबै शिक्षकप्रति कृतज्ञता व्यक्त गरिन् । कार्यक्रममा सहभागी अन्य पूर्व विद्यार्थीहरूले पनि शिक्षकहरूप्रति आभार व्यक्त गर्दै आफूहरू संलग्न सामाजिक तथा सकारात्मक गतिविधिबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here