विर्तामोड, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा सामाजिक उत्तरदायित्व र शैक्षिक प्रवद्र्धनलाई केन्द्रमा राख्दै भव्य रूपमा मनाइएको छ ।
सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा, पठन संस्कृतिको विकास तथा अनुशासित जीवनशैली प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यसहित विभिन्न सामग्री वितरण गरिएको महासंघ झापाले जनाएको छ ।
स्थापना दिवसको अवसरमा गोलोक गोवर्धन गौशालामा कार्यरत ३८ जना कर्मचारी र श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । आयोजकका अनुसार यस किसिमका कार्यक्रमले विद्यार्थीमा अध्ययनशीलता बढाउने मात्र नभई संस्कारयुक्त समाज निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महासंघ झापाले स्थापना दिवसलाई हरेक वर्ष सामाजिक सेवासँग जोड्दै आएको छ । यसअघि १८ औँ स्थापना दिवसमा झापा कारागारका बन्दीहरूका लागि पुस्तक र खेलकुद सामग्री प्रदान गरिएको थियो भने १९ औँ स्थापना दिवसमा फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । निरन्तर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको झापा शाखाको पहललाई केन्द्रिय समितिले पनि सकारात्मक रूपमा मूल्याङ्कन गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको प्रवद्र्धनमा उदाहरणीय काम गर्दै महासंघको प्रतिष्ठा बढाएको बताए । केन्द्र र प्रदेशस्तरबाट प्राप्त सम्मानहरू झापाको सक्रियता र प्रतिबद्धताको प्रतिफल भएको उनको भनाइ थियो ।
केन्द्रीय सह–कोषाध्यक्ष रविन बरालले पुस्तक तथा स्टेशनरी व्यवसाय केवल व्यापारमा सीमित नरही समाजप्रति उत्तरदायी बन्दै गएको उल्लेख गरे । ज्ञान, शिक्षा र संस्कृतिको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ निरन्तर लागिरहेको उनले बताए ।
विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई उपयोगी पुस्तक प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताए । हिन्दु सनातन संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पुस्तक व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव चन्द्रमणि घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने झापाको प्रयासले अन्य जिल्लालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे ।
निरन्तर सामाजिक योगदानमार्फत महासंघ झापाले जिल्लासँगै समग्र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको गरिमा उच्च बनाउँदै आएको व्यवसायीहरूको निष्कर्ष छ ।































