झापा , झापामा विद्यालयस्तरीय खेलकुदको उत्सव हुने भएको छ । १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आगामी फाल्गुन ४, ५ र ६ गते गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा तथा गौरादह नगरपालिकाको संयोजनमा हुने प्रतियोगिताले तीन दिनसम्म गौरादहलाई खेलमय बनाउनेछ । जिल्ला खेलकुद विकास समिति र गौरादह नगरपालिकाबीचको समन्वयपछि प्रतियोगिताको मिति र स्थान तय गरिएको समिति अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।
प्रतियोगिताको तयारी, व्यवस्थापन र सहकार्यका विषयमा गौरादह नगरपालिका खेलकुद विकास समिति अध्यक्ष कुपेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले आवश्यक निर्णय गरेको हो ।
बैठकमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, शिक्षा शाखा प्रमुख विदुर आचार्य, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारी, प्रवक्ता दुर्वासा कार्की ‘जगन’, कराते प्रशिक्षक दुर्गाराज निरौला र कुस्ती प्रशिक्षक वेदनिधि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला खेलकुद विकास समिति झापाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहबाट छनोट भएका खेलाडीहरूले मात्रै जिल्ला स्तरीय प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसका लागि सबै पालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी माघ २८ गतेभित्र खेल सम्पन्न प्रतिवेदन र खेलाडी दर्ता फाराम समितिमा बुझाइसक्नुपर्नेछ ।
१८ वर्षमुनिका छात्र–छात्रा सहभागी हुने प्रतियोगितामा करिब १५ सय विद्यार्थी खेलाडीले सहभागिता हुनेछन् ।
प्रतियोगितामा कराते, तेक्वान्दो, कबड्डी, उसु, भलिबल र एथलेटिक्स खेल विधा समावेश छन् । प्रतियोगितामा छात्र र छात्रा दुवैले सहभागीता जनाउनेछन् ।
अन्तरविद्यालय छनोटबाट उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूले मात्र जिल्लास्तरीय प्रतिस्पर्धामा स्थान बनाउनेछन् ।
पछिल्ला तीन संस्करण—१३ औँ, १४ औँ र १५ औँ राष्ट्रपति रनिङ शिल्ड—मा अर्जुनधारा नगरपालिकाले लगातार उपाधि जित्दै ह्याट्रिक गरेको थियो । अघिल्लो संस्करणको प्रतियोगिता मेची रंगशाला भद्रपुरमा सम्पन्न भएको थियो । यसपटक पनि उपाधि रक्षा हुन्छ कि नयाँ स्थानीय तहले इतिहास रच्ने हो भन्ने चासो बढेको छ ।
आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड केवल पदकको प्रतिस्पर्धा मात्र नभई प्रतिभा प्रस्फुटन गर्ने खेलकुदको मुहान भएको अध्यक्ष भण्डारीको भनाई छ । विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन, नेतृत्व र राष्ट्रियस्तरका खेलाडी उत्पादनको आधारशिला रहेको बताउँदै अध्यक्ष भण्डारीले प्रतियोगिता सफल बनाउन गौरादह नगरपालिकाले देखएको चासो प्रति खुशी व्यक्त गरे ।
गौरादहमा हुने यो संस्करणले झापामा नयाँ खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका विद्यार्थी खेलाडीले प्रद्येश र प्रदेशबाट छनौट भएका विद्यार्थी राष्ट्रिय प्रतियोगितामा भाग लिने छन् ।




























