बस्नेतको स्मृतिमा ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ माघ २४ बाट

0
2

झापा, मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको झापा गोल्डकपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि फागुन ४ गतेसम्म हुने भएको छ । 
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विगतका वर्ष झैं यस बर्षपनि प्रतियोगिता आयोजना गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ ।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु तथा विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
पूर्वी नेपालका फुटबलप्रेमी दर्शकमाझ लोकप्रिय मानिने प्रतियोगिता प्रत्यक्ष प्रसारणमार्फत देश तथा विदेशका दर्शकले अवलोकन गर्दै आएका छन् ।
भरिभराउ रंगशाला, अनुशासित दर्शक संस्कृति र प्रतिस्पर्धात्मक खेलस्तर प्रतियोगिताका विशेषता मानिन्छन्।
यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय गरिसकिएको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
प्रतियोगितालाई एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्कसले प्रायोजन गर्ने सहमतिसंगै शुक्रबार पत्रकार सम्मेलनकै समयमा मुख्य प्रयोजकसमेत रहेको एक्सट्रिम एनर्जी ड्रिङ्कस र आयोजकबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रतियोगिताका लागि मैदान मर्मतको काम पनि अन्तिम चरणमा छ भने बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको छ । मञ्च सजावट बाहेकको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here