आज शहीद दिवस

0
2

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

कवि भूपी शेरचनको यो रचनाले आज माघ १६ लाई सम्झाइरहन्छ । हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रुपमा मनाउने गरिन्छ । हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी शुरु गरे जस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ ।

आज माघ १६ तिनै सपुतहरूको सम्झना र सम्मान गर्ने शहीद दिवस हो । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामा वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । आज विशेषगरी विभिन्न कार्यक्रमका साथ शहीदहरुलाई सम्झना गरिन्छ । स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहीदहरूले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ । तर, तिनै शहीदको बलिदानीमा जन्मिएकाहरुले आज वर्षमा एक पटक मात्र शहीदको सम्झना गर्ने गरेका छन् । अमर शहीदहरुले देखाएका बाटोहरु बिर्सिएर आफ्नो स्वार्थमा रुमलिन थालेका छन् । यसले कतै शहीदको बलिदानीलाई बेकार सम्झने अवस्था त आउन लागेको होइन् ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बिरुद्ध प्रचार–प्रसार गरेको आरोपमा विक्रम सम्वत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । परिवर्तन ल्याउनका लागि अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने शहीदहरू सम्मानका लागि आमनागरिकले सोच्नुपर्ने हुन्छ । शहीदहरूको सपना र त्यागलाई साकार पार्दै देशको हितमा काम गर्न जरुरी छ । नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहीदहरूको, राणा शासनका बिरुद्धमा अनि प्रजातन्त्र बहालिका लागि शहीदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत २०३२ सालको जनमत संग्रह हुँदै २०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात–अज्ञात नेपाल आमाका छोराछोरीहरू शहीद भएका छन् ।

विक्रम सम्वत् २०६२÷०६३ सालको जनआन्दोलन र त्यसपछि पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, मधेश आन्दोलनका क्रममा सादहत प्राप्त सबै शहीदहरूलाई सम्झन जरुरी छ । हालै मात्र २०८२ भदौ २३ र २४ गतेको विद्रोहमा समेत धेरैले आफ्नो प्राण त्याग्नुप¥यो । निरंकुश सरकारबिरुद्धको भएको जेन–जी आन्दोलनलाई अहिले दलहरुले खिल्ली उडाउने र पुनः दबाउने नियत राखेर अभिव्यक्तिहरु दिइरहेका छन् । त्यो शहीदहरुको अपमान हो । आफ्ना गल्ती नदेख्ने तर देशको समृद्धी, सु–शासन र स्थायीत्व माग गर्ने जेन–जी पुस्ताको हत्याको जिम्मा तत्कालिन सरकारमा सहभागी दलहरुले लिनै पर्छ ।

२४ गतेको विध्वंशलाई देखाएर निहत्था कलिला बालबालिकाको टाउकोमा गोली बर्साउने शासकहरु कदापि उम्कन मिल्दैन । त्यसको सजाय अवश्य जेन–जी पुस्ताले दिने छन् र दिन जरुरी पनि छ । यी शहीदहरूलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झना गर्न जरुरी छ । शहीद गेटमा रहेको शहीदहरूको प्रतिमादेखि गङ्गालाल हृदय रोग प्रतिष्ठान लगायत शहीदका नाममा गठन गरिएका विभिन्न परोपकारी संस्थाहरूले, हुलाक टिकटहरू अनि सरकारी कार्यालयमा झुन्ड्याइएका तस्वीरहरू, शहीदहरूको नाममा बनाइएका बाटाघाटाहरु लगायतले शहीदको महŒव हामीलाई बुझाइरहेका छन् ।

पछिल्लो समयमा नेपाली राजनीतिक पृष्ठपोषकहरूले झिनामसिना घटनाक्रम अनि राजनीतिक स्वार्थ अनुरूप शहीदहरू तोक्ने अनि खुद्रा रुपमै शहीदहरूको फेहरिस्त तयार गरिदिएकोमा धेरै जनगुनासोहरू सुनिएको छ । आज आफ्नो स्वार्थमा लागि सडकमा निस्केर ज्यान गुमाउने पनि शहीदको सूचिमा पर्दा जो देशका लागि लडे र देशका लागि रगत बगाए उनीहरुकै अपमान गर्न सत्तामा पुगेकाहरुले गल्ती गरिरहे । हिमाल, पहाड अनि तराई सबैतिर शहीदको रगतको रङ्गहरू माटामा मिसिएका छन् । नेपाली आकाशमा उनीहरूको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा शहीदहरूको निःस्वार्थ बलिदान अतुलनीय छ । तर, शहीदको बलिदानीलाई भ¥याङ बनाएर सत्ताको स्वाद चाख्न पुगेकाहरुले शहीद शब्दकै खिल्ली उडाउने काम गरिरहेका छन् । अब त देशले विकासको फड्को मार्ला शहीदहरुको सपना पुरा होला भनेर वर्षैदेखि आशामा बाँचिरहेका नेपालीहरु निराश बन्दै विदेशिनुपर्ने अवस्था पनि हामी नेपाली माझ जगजायर छ ।

देशको अवस्थामा सुध्रिएमा नेपालमा नै केही गर्ने अठोट र सोच बोक्नेहरु पनि निराश बन्दै प्रवासमै जीवन व्यतित गरिरहेका छन् । अब त पक्कै देश एउटा समृद्धिको यात्रामा जाला भन्ने आशा नेपालीले कहिलेसम्म राख्ने हुन थाहा छैन् । देशले फेरि परिवर्तन खोज्न सक्छ, शहीद एउटा मर्यादा अनिविश्वास हो, देशभक्तका लागि । तर, कहिलेसम्म पटक–पटक परिर्वतन र सु–शासनका लागि नेपाली जनताले प्राणको आहुती दिनुपर्ने हो । शहीद दिवस प्रत्येक वर्ष माघ १६ गते नेपालमा श्रद्धा र सम्मानका साथ मनाइन्छ । यो दिन राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने वीर शहीदहरूको सम्झनामा समर्पित गरिएको हो । उनीहरूको त्याग, साहस र देश प्रेमको सम्मान गर्दै हामी स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको मूल्यलाई सम्झँदै शहीद दिवसको सम्मान गर्दै देशको विकास र रक्षाका लागि आमनागरिक जागरुक हुन जरुरी छ ।

शहीद दिवस केबल विगत सम्झिने दिन मात्र होइन, आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो । यस दिनले हामीलाई देशप्रति जिम्मेवार बन्न, सामाजिक न्यायका लागि आवाज उठाउन र लोकतान्त्रिक मूल्यहरू जोगाउन प्रेरणा दिन्छ । शहीदहरूले देखाएको बाटोमा हिँड्दै राष्ट्र निर्माणमा इमान्दारी, अनुशासन र एकताको आवश्यकता झन् स्पष्ट परेको छ । शहीद दिवसले हामी सबैलाई राष्ट्र प्रेम, त्याग र कर्तव्यबोधको भावना जगाउन आवश्यक छ । शहीदहरूको बलिदान कहिल्यै खेर नजाओस् भन्ने संकल्पका साथ देशलाई शान्ति, समृद्धि र न्यायको बाटोमा अघि बढाउनु नै हाम्रो दायित्व हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले पक्कै पनि देशको समृद्धि, आशा भरोसालाई अत्मसाथ गर्दै वीर शहीदहरुले देखाएको बाटोमा अग्रसर बनाउन आमनागरिकले भरोसा युक्त नेतृत्व चयनमा ध्यान दिनुहुने छ भन्ने आशाका साथ शहीद दिवस केलब दिवस मात्र होइन नेपाली प्रजातान्त्रिक आन्दोलनको एउटा गाथा हो भन्ने कुरालाई बिर्सनु हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here