काकडभिट्टा–पानीटंकी नाकाबाट १० किलो चाँदी बरामद, झापाकी महिला पक्राउ

0
6

झापा । नेपाल–भारत सीमा क्षेत्र काकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई पक्राउ गरेको छ ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्दा चाँदी बरामद गरिएको हो ।

सुरक्षाकर्मीले शुक्रबार दिउँसो करिब १२ः४५ बजे पुरानो पुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेकी महिलालाई रोकी जाँच गर्दा उनको झोलाभित्र लुकाइछिपाइ राखिएको दानादार स्वरूपको चाँदी फेला परेको जनाइएको छ ।

पक्राउ पर्नेमा झापा निवासी ४२ वर्षीया देवीकला खड्का रहेको भारतीय सुरक्षास्रोतले जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले भारतको बागडोग्राबाट एक अपरिचित भारतीय नागरिकले नेपाल पुर्‍याउन भन्दै चाँदी दिएको र त्यसबापत चार हजार रुपैयाँ दिने प्रलोभन दिएको बयान दिएकी छन् । उनले यसअघि पनि यस्तै प्रकृतिको ओसारपसारमा संलग्न रहेको स्वीकार गरेको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट बरामद चाँदी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागिएको खुलेको छ । पक्राउ परेकी महिला र बरामद चाँदीलाई थप कानुनी प्रक्रिया अघि बढाउन भारतीय राजस्व गुप्तचर निर्देशनालय, सिलिगुडी (दार्जिलिङ) मा बुझाइएको सुरक्षास्रोतले जनाएको छ ।

यस घटनाले सीमा क्षेत्रमा सुन, चाँदी तथा अन्य बहुमूल्य वस्तुको तस्करी अझै सक्रिय रहेको संकेत गरेको छ । सुरक्षाकर्मीले अवैध गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा पारिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here