प्रकृति बचाउने संकल्पसहित हसिना सिमसारमा विश्व सिमसार दिवस मनाइयो

0
24

सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित हसिना सिमसारमा विश्व सिमसार दिवस केवल औपचारिक कार्यक्रमका रूपमा होइन, प्रकृतिप्रतिको प्रेम, जिम्मेवारी र भावनात्मक प्रतिबद्धताका साथ मनाइएको छ। जैविक विविधताको धरोहरका रूपमा रहेको सिमसार संरक्षणको सन्देश बोकेर आयोजित कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो।

नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य अनिता परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमसार केवल पानी जम्ने स्थान नभई जीवन, संस्कृति र भविष्यको आधार भएको सन्देश प्रवाह गरिएको थियो।

“स्वस्थ शरीरका लागि स्वच्छ वातावरण” भन्ने मूल नारासहित आयोजना गरिएको सांस्कृतिक तथा पर्यटकीय पैदल यात्राले सहभागीहरूलाई प्रकृतिसँग नजिक ल्यायो। हसिना सिमसार वरिपरि गरिएको उक्त यात्राले वातावरण संरक्षणप्रतिको सामूहिक चेतनालाई थप मजबुत बनायो।

कार्यक्रममा तालतलैया कला, साहित्य तथा सांस्कृतिक समाज (कोशी प्रदेश, इटहरी–सुनसरी) को सहभागिता उल्लेखनीय रह्यो। साथै योगदान राष्ट्रका लागि इटहरी नगर समिति,एन बिके कलेज इटहरी र तालतलैया विकास तथा संरक्षण समिति, इटहरी ले सहकार्य गर्दै कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए।

नाटक तथा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत सिमसार नष्ट हुँदा मानव जीवन, चराचुरुङ्गी र प्राकृतिक सन्तुलनमा पर्ने असरलाई अत्यन्त भावुक र कलात्मक ढंगले प्रस्तुत गरिएको थियो। ती प्रस्तुतीहरूले उपस्थित सबैलाई केहीबेर मौन बनाउँदै प्रकृति जोगाउने जिम्मेवारी हाम्रो काँधमा छ भन्ने सन्देश दिलाए।

कार्यक्रमको सहजीकरण नमुना सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष कृष्णकुमारी सिलवालले गर्नुभएको थियो। सहभागीहरूले हसिना सिमसार भावी पुस्ताका लागि अमूल्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा निरन्तर सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। प्रकृति बाँच्यो भने मात्र जीवन बाँच्नेछ— यही सन्देशका साथ हसिना सिमसारमा मनाइएको विश्व सिमसार दिवस सबैका लागि आत्ममन्थन र संकल्पको दिन बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here