मुलुक यतिबेला निर्वाचनमय भइसकेको छ । निर्वाचनको जिम्मेवारी लिएको निर्वाचन आयोगले आफ्नो तयारी तीव्र गतिमा सञ्चालन गरिरहेका बेला ठूला भनिने केही दलका नेताहरु निर्धारित मितिमा निर्वाचन हुनेमा आशंका व्यक्त गरिरहेका छन् । यद्यपि आशंका प्रकट गर्नेहरु पनि निर्वाचनका गतिविधिमा सक्रिय छन् । तथापि नतिजा अनपेक्षित आउन सक्ने भयले संसद पुनस्र्थापनाको मागसहित अभिव्यक्तिलाई असभ्य, अभद्र र अमर्यादित बनाउन होड गर्दैछन् । भनिन्छ– कलको बीऊ कुरा हो अर्थात् नेता र नेतृत्वकै अरुलाई व्यङ्ग्य, कटाक्ष र मर्यादाहीन आक्षेप लगाउँदै शान्ति सुरक्षामा चुनौती थप्दैछन् ।

नेतृत्व र नेताहरुका यस्ता अभिव्यक्तिले सामाजिक, सांस्कृतिक र जातीय सद्भाव बिथोल्न सक्ने परिस्थितिलाई अनुभूत गर्दै राष्ट्रिय मानवअधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । त्यस्ता अभिव्यक्तिले निर्वाचन र शान्तिसुरक्षामा असर पर्ने भन्दै घृणास्पद अभिव्यक्ति बन्द गर्नु र सरकारलाई शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन सल्लाह दिएको छ । घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने भएकाले वाक तथा विचार स्वतन्त्रताको संवैधानिक अधिकार दुरुपयोग हुन्छ । यस्तो दुरुपयोग स्वतन्त्रताको पनि बर्खिलाप हुन्छ ।
आमचुनावको पूर्वसन्ध्यामा नेता, उम्मेदवारहरुले सार्वजनिक मञ्चमा दिने अभिव्यक्ति, विषय, भाषा र प्रस्तुतिको मुख्य आकर्षण हुन्छ । त्यस्तो अभिव्यक्ति वा भाषा र टिप्पणी कुनै पनि धर्म, संस्कृति र व्यक्ति लक्षित विरोधी भयो भने विद्यमान सद्भाव भङ्ग हुन सक्छ । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा बहुभूबनौट भएको देश हो जहाँ अनेक विविधताका बीच एकता र सद्भाव रहँदै आएको छ ।
निर्वाचनकै मुखमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र एमालेकै नेता महेश बस्नेतको विपक्षी दलका उम्मेदवार प्रति लक्षित अराजक र अमर्यादित भनाइको सर्वत्र आलोचना भयो । बोलीमा लगाम लगाइएन भने त्यस्ता कटाक्ष, टिप्पणी र अभिव्यक्तिले अनपेक्षित परिणाम दिन सक्छ । यतिखेर घृणा, हिंसा र विभाजन होइन स्वतन्त्र र भयरहीत निर्वाचनको खाँचो छ । नेपाल र नेपालीको शदीयौंदेखिको एकता, सहिष्णुता र सद्भावलाई अक्षुण्ण राख्ने कुरामा सबै सचेत हुनुपर्छ ।





























