आज प्रजातन्त्र दिवस

0
3

जतानले जनताद्वारा गरिने शासनलाई प्रजातन्त्र भनिन्छ । प्रजातन्त्र शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ हुन्छ– प्रजा (जनता) र तन्त्र (शासन वा व्यवस्था)। यसलाई सरल ढंगमा भन्नुपर्दा जनताले चुनेका नेतृत्वले जनताको हितमा गरिने शासन नै प्रजातन्त्र हो । प्रजातन्त्र दिवस नेपालका लागि महŒवपूर्ण मानिन्छ । निरङ्कुश शासकबिरुद्ध जनताले गरेको त्याग, बलिदानको उपलब्धि हो– प्रजातन्त्र दिवस ।

आज फागुन ७ गते प्रत्येक वर्षको फागुन ७ गतेले २००७ सालको फागुन ७ गतेलाई सम्झाउँछ । वि.सं. २००७ सालको फागुन ७ गतेको दिन देशमा विद्यमान एकतन्त्रीय राणा शासनको अन्त भएर प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । त्यसैले प्रजातन्त्र दिवसलाई राष्ट्रिय प्रजातन्त्र दिवस भन्ने गरिएको छ । यो दिवसलाई देशमा सम्भावनाका सबै ढोका खोलिएको दिनको रुपमा पनि लिने गरिएको छ । जनताले गरेको त्याग र बलिदानलाई आत्मसाथ गर्दै बिहानीको उज्यालो छर्दै नेपालमा फागुन ७ गते प्रजातन्त्र आएको दिन हो ।

देशमा प्रजातन्त्र ल्याउन धेरै वर्ष पहिलेदेखि प्रयास भइरहेको थियो । त्यसबेलाका जुझारु व्यक्तिहरुले पर्चा पम्प्लेट र भूमिगत संगठन गरेर राणा शासनको बिरुद्धमा आवाज चर्काउँदै थिए । १९९७ सालमा निरङ्कुश सरकारले चार जनालाई शहीद बनाएपछि स्थिति अरु विस्फोटक भएको थियो । त्यस्तैमा नेपालभित्र र बाहिर राजनीतिक पार्टी गठन हुन थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । राजा त्रिभुवन स–परिवार भारतमा शरण लिन पुगे ।

राजाको त्यस कदमले राणा शासकहरुलाई ज्यादै अप्ठ्यारोमा पा¥यो आखिर निरंकुश सरकारले जनताका सामु घँुडा टेक्नु प¥यो, हार स्वीकार्नु प¥यो । राजा त्रिभुवन देश फर्केपछि फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यो घोषणा नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण घोषणा हो । त्यही घोषणाबाट नेपालीहरुले लेख्ने, बोल्ने र राजनीतिक संगठन गर्ने लगायतका सबै स्वतन्त्रताहरु प्राप्त गरेका हुन । यो केबल व्यक्तिका लागि होइन देश र जनताकै लागि एक महत्वपूर्ण दिन हो । जनताले त्याग र बलिदानी दिएर आएको प्रजातन्त्रलाई पटक–पटक घाँटी निमोट्ने काम भएका विगतबाटै भएका छन् ।
त्यसरी प्रजातन्त्र आएता पनि प्रजातन्त्रलाई पटक–पटक प्रहार गर्ने काम भयो । बाहिर प्रजातन्त्रको माला जप्ने तर भित्रभित्रै प्रजातन्त्रको हक अधिकारमा बन्देज लगाउने प्रवृत्ति भएका राजनीतिक व्यक्तिहरुको कार्यगत एकता भयो । जसले गर्दा फस्टाउन लागेको प्रजातन्त्रमा पटक–पटक ग्रहण लाग्यो । तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको प्रादुर्भाव गराएपछि प्रजातन्त्र फेरि नराम्रोसँग खुम्चिँदै गयो । निर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई जेलमा राखियो । संसदीय व्यवस्था खारेज गरियो । पञ्चायती व्यवस्थाको ३० वर्षको आभ्यासले प्रजातन्त्र भन्नै नहुने, उच्चारण गर्नै नहुने शब्द जस्तो भयो । तर, वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनले देशमा प्रजातन्त्रको पुनर्वहाली गरेको छ । प्रजातन्त्र, लोकतन्त्र भन्ने अवस्था सिर्जना भएको छ । तर, जति यसले महत्व पाउनुपर्ने हो त्यो पाउन सकिएको छैन ।

विश्व मानचित्रमा नेपाल देश रहे पनि राजनीतिक अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको अस्तिव विलुप्त नै थियो । अंग्रेजहरूको गुलामी गरेर नेपालमा जहाँनिया शासन चलाइरहेका राणाहरूको निरंकुशता, स्वेच्छाचारिता, शोषण र अत्याचारले पराकाष्ठा नै नाघेको थियो । सामाजिक विभेद् चरम थियो । त्यस्तो विषम् परिस्थितिमा राणा शासनबिरुद्ध शंखघोष गर्ने नेपाल आमाका चार सपूतलाई मृत्युदण्ड दिइएको थियो । नेपाली ती सपुतहरुको त्याग र बलिदानीलाई केबल अहिले मजाक बनाउने काम दलहरुले गरिरहेका छन् । जनताले ल्याएको प्रजातन्त्र माथि घोडा चडेर रज्जाई गरिरहेकाहरुलाई जनताले पुनः एक पटक सवक सिकाउन जरुरी छ ।

नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको पहिचान दिलाउने, नेपाली समाजमा लोकतन्त्र र जनअधिकारको बहाली गर्ने र समग्र राष्ट्रलाई विकास एवम् समृद्धिको बाटोमा अघि बढाउने लक्ष्यका साथ सम्पन्न भएको थियो, २००७ को जनक्रान्ति । २००७ पछि नेपालमा दुईवटा ऐतिहासिक राजनीतिक परिवर्तन भए, ०४६ को परिवर्तन र अर्को ०६३ को परिवर्तन । त्यसैले हामी नेपालीले बिर्सन नहुने कुरा के हो भने नेपालको राजनीतिक विकासक्रमको प्रस्थानबिन्दु हो, २००७ सालको जनक्रान्ति । तर, दुई वटा क्रान्तिलाई आफ्नो स्वार्थ अनुकुल ब्याख्या गर्दै जनता माथि मनपरी गरिरहेका शासकबिरुद्ध पुनः तेस्रो क्रान्ति भयो जुन– २०८२ भदौ २३ र २४ गते हो ।

नेताहरुको मनपरीबिरुद्ध जेन–जी समूह शान्तिपूर्ण रुपमा सडकमा आउँदा बर्बर गोली हान्नेहरु अहिले टाँउको ठाडो पारेर हिनिरहेका छन् । यिनीहरुलाई जबसम्म कानूनी कठघरामा उभ्याउ सकिन्न तबसम्म जेन–जी बिद्रोहले उपलब्धि हासिल गर्दैन् । अहिले उनीहरुले विदेशी चलखेल, देश युक्रेन हुन्छ भन्दै अनेक भ्रम छर्ने काम गरिरहेका छन् । नेपाल कसैले दिएको दाइजो होइन र कसैले भन्दैमा युक्रेन हुँदैन । नेपाली जनताको आँखामा छारो हालेर आफ्नो रोटी सिक्नेहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा आम नागरिकले विवेक प्रयोग गर्दै सबक सिकाउन जरुरी छ । नेपाल स्वतन्त्र भएको सात दशकभन्दा बढी भइसक्दा पनि हामी द्वन्द्व र संघर्षमै अल्झिरहेका छौं । सात सालमै प्रजातन्त्र आयो, तर ७५ वर्ष नाघ्यो, राणा गए, तैपनि राणाकालीन संस्कार फिटिक्क गएन । राणा संस्कारले राजा, रंक र नेतालाई समेत छोप्यो । त्यसैले अहिले भन्न थालिएको छ, प्रजातन्त्र दिवस मनाउनुको अर्थ महत्वपूर्ण छ ।

प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, नागरिक शासन जस्ता शब्दगत पृथकता देखिए पनि भावगत वा आशयगत ध्वनी भने जनताले चुनेका–छानेका जनपक्षीय प्रतिनिधिहरूले जनताको भलाई, उत्थान, विकास र समृद्धिको सुशासन स्थापित गर्ने प्रणाली हो, जनशासन वा प्रजातन्त्र । स्वतन्त्रता, समानता र भ्रातृत्वको उदात्त भाव संस्थापित गर्न क्रान्तिकारी लडाकु वीर पूर्खाहरूको बलिदानको सारपूर्ण प्रतीक तिथि वा दिवस हो, फागुन ७ को प्रजातन्त्र दिवस ।

२००७ साल फागुन ७ गतेको निरन्तरतालाई कायम राखी २०६२÷०६३ को जनआन्दोलन सम्पन्न भएर ७५ वर्षदेखिको प्रतिक्षारत संविधानसभाको निर्वाचन सम्पन्न भएर देशमा सहमति, सहकार्य र सहमेलको आधारमा शान्ति र संविधानलाई परिणाममुखी बनाउँदै कानूनी राज्यको असीम आशाद्वीप प्रज्वलित हुनुप¥यो । तर, विडम्बना यो देशका राजनीतिक दलहरू र यसका शीर्ष नेताहरू भने लोकतन्त्र, गणतन्त्र र संघीय राज्यलाई आ–आफ्नै कोणबाट अपव्याख्या गर्दै यत्रो समयसम्म संविधान लेख्ने र शान्तिलाई निष्कर्षमा पु¥याउने कामबाट विचलित बने र अहिले एकथान संविधान लागू गरिएको छ, त्यो पनि विग्रहको भुमरीमा । आ–आफ्ना गुटीय गञ्जकमा दलीय दिशा नै भताभुंग बनाएर सत्ताकेन्द्रीत मनस्थितिमा दम्भ, इष्र्या, बेमेल र आत्मइरादामा रन्थनिएका छन् ।

महँगी दिन दुगुना रात चौगुणा बढ्दैछ, हत्या–हिंसा चुलिएर राज्य प्रशासन निकम्मा, निरीह र बेकम्मा भएको छ । भ्रष्टाचार, नातावाद, घूस, कमिशन वनमारा झार झैं मौलाउँदो छ, टेन्डर र कोटेसनमा गुन्डा, दादा र डनहरू नै हाँको–डाँको मच्चाउँदैछन् । दलहरू आफैंभित्र कल, छल र बल प्रयोग गरी जसरी पनि सत्ता हत्याउने दाउमा छन् । अन्तरदलीय मिलाप, सहमति र सहकार्य हात्तीको देखाउने दाँत बनेको छ । राष्ट्र लुटेरा, तस्कर, माफियाहरू पार्टीमा उपल्लो स्थान बनाएर कब्जा जमाइरहेका छन् । यसरी सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, व्यवसायिक सबै क्षेत्र कोलाहलमा रन्थनिएको छ । सर्वत्र झण्डावाल र डण्डावालले लुट्को खेती मच्चाइरहेका छन् । यसको अन्त्यका लागि दलहरुलाई सजग गराउँदै विद्यार्थीहरुले सु–शासन, भ्रष्टाचार अन्त्य, स्थायी सरकार र विकासका मागहरु लिएर सडकमा शान्तिपूर्ण प्रर्दशन गर्दा निरंकुश शासकले भन्दा बर्बर दमन गर्ने तत्कालिन सत्ता साझेदार दल तथा नेतृत्वलाई कडा कारबार्ही हुनुपर्छ ।

साथै जेन–जी विद्रोहका मागलाई स्थापित गर्न आगामी निर्वाचन पछि निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउन जरुरी छ । तब मात्र प्रजातन्त्रले सार्थकता पाउने छ । नैतिकता, सिद्धान्त, आदर्श र देशका लागि गरिने राजनीति भएको भए जेन–जी विद्रोह हुने थिएन् । जब अतिबाट चार भयो तब जनता सडकमा उत्रिए । शासकले कल्पना समेत गर्न नसकेको विद्रोहको ज्वाला दन्कियो । नेताहरुले हेलिकप्टर चडेर भाग्नुपर्ने दिन आयो भने केहीले गालामा चड्कन पनि भेटे तर अझै पनि उनीहरु गल्ती स्वीकार गर्न माग्दैनन् । त्यसैले अब यिनीहरुको अन्त्यका लागि आगामी निर्वाचनमा नागरिकले विवेक प्रयोग गर्दै यस्ता कु–शासकहरुलाई विश्राम दिन जागरुक हुनुपर्छ ।

देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई सवल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्थामात्र प्रजातान्त्रिक हुन सक्छ । देश र जनताका हितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत गर्दै सीमित व्यक्तिहरूको स्वार्थरक्षालाई नै प्रजातन्त्रका रूपमा जनताले आत्मसाथ गरिदिनुपर्ने अवस्थाको अन्त्य गर्न आगामी फागुन २१ ग्ते हुने निर्वाचन सफल बनोस् त्यो नै प्रजातन्त्र दिवसको सुन्दर उपलब्धि हो ।

नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवम् राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रूपमा प्रजातन्त्र प्रयुक्त बन्न सकोस् । प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता पाउनुपर्छ । प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम बन्द गर्दै जनताको हितमा हुने काम, देशको रक्षा र विकासलाई पहिलो प्रथमिकतामा राख्न सक्नुपर्छ तब मात्र प्रजातन्त्र दिवसले एउटा सार्थकता पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here