२०४६ यताका सबै काण्डको छानबिन गर्छौं : रवि लामिछाने

0
2

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०४६ सालपछि देशमा भएका सबै भ्रष्टाचार तथा अनियमितता सम्बन्धी काण्डको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार आयोजित पार्टीको “परिवर्तन उद्घोष सभा”लाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याएर सरकार गठन गर्ने दाबी गरे।

सभालाई सम्बोधन गर्दै लामिछानेले विगतका सरकारहरू भ्रष्टाचार नियन्त्रणमा असफल भएको आरोप लगाए। उनले भने, “जनताले परिवर्तन चाहेका छन्, अबको सरकार जनताको पक्षमा उभिन्छ। हामी सरकारमा पुगेपछि २०४६ सालदेखि अहिलेसम्म भएका सबै काण्डको निष्पक्ष छानबिन गर्छौं, दोषी जो भए पनि कानुनी दायरामा ल्याइन्छ।”

उनले देशको राजनीतिक प्रणालीमा देखिएको अव्यवस्था, बेथिति र दण्डहीनताको अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। लामिछानेका अनुसार जनताले पुराना दलप्रति निराशा व्यक्त गरिसकेको अवस्था छ र नयाँ शक्तिलाई अवसर दिन चाहिरहेको अवस्था स्पष्ट देखिएको छ। “यो निर्वाचन केवल सत्ताका लागि होइन, प्रणाली सुधारका लागि हो,” उनले जोड दिए।

सभामा उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाइएको बताए। उनले युवालाई देशमै अवसर सिर्जना गर्ने वातावरण बनाउने, वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने र राज्य संयन्त्रलाई जनमुखी बनाउने योजना पनि प्रस्तुत गरे।

लामिछानेले आफ्नो सम्बोधनको अन्त्यमा मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आह्वान गर्दै भने, “यदि तपाईंहरू साँचो परिवर्तन चाहनुहुन्छ भने यो निर्वाचनमा सही निर्णय लिनुहोस्। हामीले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछौं।”

परिवर्तनका लागि नयाँ शक्तिलाई साथ दिन बालेन शाहको आग्रह

सभालाई सम्बोधन गर्दै  वरिष्ठ नेता  बालेन शाह ले पनि देशमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता रहेको बताए। उनले युवापुस्ताले जिम्मेवारी लिनुपर्ने समय आएको उल्लेख गर्दै परिवर्तनका लागि सक्षम र इमानदार नेतृत्वलाई समर्थन गर्न मतदातासँग आग्रह गरे।

शाहले राजनीतिक संस्कारमा सुधार, विकासमा तीव्रता र सार्वजनिक सेवामा पारदर्शिता कायम गर्न नयाँ राजनीतिक विकल्प आवश्यक रहेको धारणा राखे। कार्यक्रममा सहभागी कार्यकर्ता तथा समर्थकहरूको ठूलो उपस्थिति देखिएको थियो।
पार्टीका स्थानीय नेताहरूले पनि मन्तव्य राख्दै आगामी निर्वाचनमा जनसमर्थन बढिरहेको दाबी गरे। उनीहरूले पुराना राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here