मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरु प्रत्येक वर्ष बढ्दै गएको छ । महिलाका क्षेत्रमा काम गरिरहेका सरकारी एवम् गैरसरकारी संस्था मार्फत भएका अध्ययनका अनुसार खासगरी मधेश प्रदेशमा यौन हिंसा बढेको देखाएका छन् । यसो हुनु समाज व्यवस्थाबिरुद्ध हो जसले सामाजिक संकट निम्त्याउने निश्चित छ । यौनजन्य हिंसाको यो गम्भीर घटनामा खासगरी बालिका बढी प्रभावित भएको तथ्यांकहरुले देखाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२६ मा मधेश प्रदेशमा दुई सय बीस वटा बलात्कारका घटना भएको उल्लेख छ । इन्सेकले २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा बालिका बलात्कारका एक सय एक वटा घटनाको अभिलेख छ ।

बालबालिकाभन्दा केही बढी अर्थात् एक सय उन्नाइस वटा घटना महिला बलात्कारका रहेका छन् । नेपालको कानूनी व्यवस्था अनुसार १८ वर्ष मुनिका बालिका र त्यस माथिकालाई महिला भनिएको छ । जस अनुसार बालिकातर्फ किशोरीहरु हिंसाको उच्च जोखिममा रहेका छन् । यस बाहेक महिला पुनस्र्थापना केन्द्र मधेश प्रदेशले समेत महिला माथि हुने हिंसाको अभिलेखीकरण गरेको छ, त्यसमा पनि अन्य प्रदेशको तुलनामा मधेशमा महिला तथा बालबालिका माथि हुने हिंसा नै बढी छ । यसरी मधेश प्रदेशमा महिला हिंसाको ग्राफ उच्च देखिनुमा शिक्षाको कमी प्रमुख कारणका रुपमा रहेको प्रतिवेदनहरुले देखाएका छन् । त्यसैगरी सांस्कृतिक, आर्थिक तथा सामाजिक प्रभावले पनि लैङ्गिक हिंसामा कमी आउन नसकेको हो । त्यसकारण पनि उल्लेखित कारणको अन्त्य नभएसम्म महिलामाथि हुने हिंसाको अन्त्य सम्भव छैन । अझ मधेश प्रदेशमा मधेशी समुदायका दलित तथा विपन्न वर्गका महिलामा यौन हिंसा बढी हुने गरेको तथ्यांकले देखाएका छन् । उनीहरुमा अशिक्षा, न्यायिक पहुँच र मिडिया सम्बन्धी चेतना कमी भएका कारण यस्ता हिंसाजन्य घटना सार्वजनिक हुने गरेका छैनन् ।
दलित तथा विपन्न वर्गका महिला घरेलु कामदारका रुपमा रहँदा विभिन्न प्रलोभनमा पारेर+यौन शोषणमा पर्ने गरेका, दाइजोको विभिन्न रुपमा र अन्तरजातीय विवाह पनि यस्ता हिंसाका कारकका रुपमा रहेका छन् । यस्ता विभेदकारी तथा समाज विरोधी गतिविधि अन्त्यका लागि सरकार, अन्तर्राष्ट्रिय विकास तथा जनसंख्या कोष र विश्व बैंक जस्ता राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय निकायले पर्याप्त लगानी गरेका छन्, तर यौनजन्य हिंसाका घटनामा कमी आउन सकेको छैन । त्यसैले समाजको विकासमा अवरोध गर्ने यौन हिंसाका निन्दनीय घटना न्यूनीकरणसहित अन्त्य गर्न विपन्न महिलाको आर्थिक सुधार आवश्यक छ । त्यसका साथै शिक्षाको पहुँच विस्तार गरी महिला सशक्तिकरणको माध्यमबाट विसंगति र अभिशापका रुपमा रहेको महिला हिंसाको अन्त्य गर्न सकिन्छ । यसका लागि बलियो हतियार भनेको महिला शिक्षाको विकास हो । त्यतातर्फ सरकार बढी गम्भीर हुनुपर्छ ।




























