आधुनिकता र सभ्यताको प्रतीकका रुपमा भान्सामा यतिबेला कोक, पेप्सी लगायतका पेयपदार्थ भित्रिएका छन् । आधुनिक, सभ्य र सम्पन्न देखिने मानसिकताले हाम्रो परम्परागत पेय पदार्थहरु कागतीको सर्बत, मोही आदि विस्थापित भएका छन् । सामाजिक, प्रतिष्ठासँग जोड्ने मानसिकताले यस्ता कृत्रिम पेय पदार्थले परम्परागत वस्तु हटाएको मात्र छैन अनेक असाध्य रोग भित्र्याउन थालेको अनुसन्धानहरुले देखाएका छन् । विश्व स्वास्थ्य संगठनले कोकाकोला, इनर्जी ड्रिङ्क्स, चुइङगम लगायतका पेय पदार्थहरुमा प्रयोग गरिने गुलियोले क्यान्सर हुने चेतावनी दिएको थियो । राष्ट्र संघको चेतावनीपछि वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानले पनि चिनीयुक्त र चिनी नभएको पेय पदार्थहरुको दीर्घकालीन सेवनले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने देखाएको छ ।

गर्मीयाममा शितलताका लागि भन्दै कोक, फ्यान्टा, पेप्सी जस्ता पेय पदार्थको खपत धेरै हुने गरेको छ । उपभोक्ताको रोजाइमा पर्दै आएको यस्ता पेय पदार्थहरुले दाँतमा क्षति पु¥याउँछ भने सफ्ट ड्रिङ्क्समा हुने चिनी र एसिडले मुटु सम्बन्धी रोग एवम् मोटोपन र मधुमेहको जोखिम निम्त्याउने अनुसन्धानको निष्कर्ष छ । विशेषगरी युवा र बालबालिकाहरुले टेलिभिजनका विज्ञापनको प्रभावमा परेर यस्ता कृत्रिम पेय पदार्थहरुको प्रयोग बढाइरहेका छन् । बजारिया पेय पदार्थको पहुँच तथा यसको स्वादमा लगिने प्रवृत्तिले विश्वमै चुनौती खडा गरिरहेको छ । गाउँ बजारमा पसलहरुमा छ्यापछ्याप्ती पाइने यस्ता पेय वस्तुले हाम्रा परम्परागत मोही, सर्बत लगायतका नेपाली शैलीलाई विस्थापन गर्न लागेको छ, जसले भविष्यमा स्वास्थ्य चुनौती थप्ने पक्का छ । अधिकांश उपभोक्ताहरुलाई यी पेय पदार्थमा रहने तत्वहरुले शरीरलाई गर्ने असरका बारेमा जानकारी हुँदैन । यिनमा रंग, बास्ना, स्वाद जस्ता आकर्षणले लठ्ठ बनाएको छ भने त्यसले पार्ने दीर्घकालीन असरका बारेमा बेखबर ।
पाहुनालाई चिसो मोही र तातो चियाले स्वागत गर्ने नेपालीको पुरानो संस्कार हो । तर, अहिले आधुनिक देखिनकै लागि यस्ता कृत्रिम पेय पदार्थले स्वागत गर्ने चलन बढ्दै गएको छ । यही प्रयोग, फेरिएको जीवनशैली र आधुनिकताको रंग अनि आकर्षणमा शरीरलाई रोगको घर बनाइरहेका छौं । शारीरिक श्रम गर्ने शरीर बिलाशी जीवन भोग्न थाल्यो । जसले गर्दा खाएका वस्तुले नै शरीरमा अत्याधिक चिनी उत्पादन गर्न थाल्यो । यस्तोमा विश्व नै मधुमेहको चपेटामा पर्दै जानु स्वभाविक नै हो । अनुसन्धानले भन्छ कोक, पेप्सी जस्ता पेय वस्तुको एक गिलासमा दश चम्चा चिनी हुन्छ, जसले चिनीको तह ह्वात्तै बढाउँछ र मानिसमा मोटोपन नै समस्या बन्न पुग्छ । अझ क्यान्सर जस्तो घातक रोग संक्रमणको प्रमुख कारक मध्येको यस्ता पेय पदार्थमा हुने तत्वहरुले पेटमा भएका लाभदायक ब्याक्टेरीयाहरुको संरचनामा परिवर्तन ल्याउने वैज्ञानिक अनुसन्धानको निष्कर्ष छ । यसले रोग प्रतिरोधी क्षमताभर ह«ास आउँछ र यसले कलेजो, मृगौलामा समेत हानी गर्छ । तसर्थ स्वास्थ्य नै धन हो भन्ने परम्परागत मान्यताको अनुशरण गर्न घरमै उपलब्ध हुने विकल्प रोज्नु बुद्धिमानी हुन्छ ।





























