झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताअन्तर्गत आज शुक्रबार सम्पन्न खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लव सिक्किम विजयी भएको छ ।

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक आयोजित प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपालको मिलन क्रिकेट क्लव झापालाई ९ विकेटले पराजित गर्दै सिक्किमले सहज जीत निकालेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको झापाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८६ रन बनायो । जवाफमा सिक्किमले १ विकेट क्षतिमा १५.२ लक्ष्य पार गरेको प्रतियोगिताका व्यवस्थापक राजन भट्टराईले जानकारी दिए ।
झापाको तर्फबाट काजल श्रेष्ठले सर्वाधिक ३१ रन बनाइन् भने सिक्किमको तर्फबाट समयता रायले सर्वाधिक ४२ रनको योगदान दिइन् ।
दुई खेलमा हार व्यहोरेको झापा प्रतियोगिताबाट बाहिरिएको छ भने भोलि शनिबार भारतको अलपाइन स्पोर्टिङ क्लव सिक्किम र भारतकै दून हेरिटेज सिलिगुडीबीच फाइनल खेल हुने प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए ।






























