योगेन्द्र योगी
सुन्दरहरैंचा , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ९नेसनल प्याब्सन० को कोशी प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ।
मोरङको सुन्दरहरैंचा–४ स्थित चिल्ड्रेन मन्टेश्वरी स्कुलमा रहेको प्रदेश कार्यालयमा अध्यक्ष कमल खनालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तारदेखि कार्यालय व्यवस्थापनसम्मका विषयमा विस्तृत छलफल गरेको हो।
बैठकले कार्यालय व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र सेवा–मुखी बनाउने निर्णय गरेको छ। साथै, हालै सम्पन्न प्रदेश अधिवेशनको समिक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने रणनीतिमा जोड दिइएको छ।
त्यसैगरी, आगामी चैत २८ गते प्रदेश स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा नववर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ। बैठकले वार्षिक कार्यक्रम तय गर्दै शैक्षिक क्षेत्रका विविध गतिविधिहरूलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाएको छ।
सदस्य विस्तारलाई तीव्रता दिने, नयाँ विद्यालयहरूलाई संगठनमा आबद्ध गराउने र आर्थिक कोष व्यवस्थापनलाई पारदर्शी तथा सुदृढ बनाउने विषयमा पनि बैठकले ठोस निर्णय गरेको जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल खनालले कोशी प्रदेशमा निजी तथा आवासीय विद्यालयहरूको गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले भने, “हामीले केवल संगठन विस्तार मात्रै होइन, विद्यालयहरूको शैक्षिक स्तर सुधार, शिक्षक क्षमता विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा पनि विशेष ध्यान दिनुपर्नेछ।”
खनालले सबै सदस्यहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्दै आगामी दिनमा नेसनल प्याब्सनलाई अझ प्रभावकारी, उत्तरदायी र शैक्षिक नेतृत्वदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले थपे, “कोशी प्रदेशभित्र रहेका सम्पूर्ण निजी विद्यालयहरूलाई एउटै छातामुनि ल्याएर साझा समस्याहरूको समाधान खोज्नु हाम्रो जिम्मेवारी हो। नीति निर्माण तहसँग सहकार्य गर्दै निजी विद्यालयहरूको हकहित र अधिकार सुनिश्चित गर्न हामी सक्रिय रूपमा लाग्नेछौं।”
अध्यक्ष खनालले पारदर्शी आर्थिक व्यवस्थापन, प्रभावकारी कार्यक्रम कार्यान्वयन र सदस्यहरूको सक्रिय सहभागिताबाट मात्र संगठन सफल हुने उल्लेख गर्दै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे।
उनले आगामी दिनमा प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया र शैक्षिक नवप्रवर्तनका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने जानकारी दिँदै कोशी प्रदेशलाई शैक्षिक रूपमा अग्रणी बनाउने लक्ष्य लिएको बताए। बैठकपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
अध्यक्षमा खनाल सहित उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई,सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका, महेन्द्र कुमार राई तथा झापाका धिरज नारायण गणेशलाई निर्वाचन समितिका संयोजक खगेन्द्र केसी र सदस्य भनीरुद्र चौधरीले नवनिर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए।































