भदौ २३–२४ का घटनामा निष्पक्ष छानबिनको माग गर्दै सरकारको आलोचना

0
3

झापा : भदौ २३ र २४ गते देशभर भएका हिंसात्मक घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै झापामा नेकपा एमालेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ। नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन र सरकारको ‘पक्षपाती व्यवहार’ सच्याउन माग गरिएको हो।

विज्ञप्तिमा हालको विश्व परिस्थितिको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्दै हालै सम्पन्न २०८२ फागुन २१ गतेको निर्वाचनबाट नयाँ सरकार गठन भएको स्मरण गराइएको छ। निर्वाचनले देशलाई अस्थिर बनाउने वा राष्ट्रियता कमजोर पार्ने उद्देश्य नरहेको जनाउँदै नेपालले आफ्नो स्वाभिमान र स्वतन्त्रता जोगाउनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा भदौ २४ गते जेन–जे पुस्ताले सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै गरेको शान्तिपूर्ण आन्दोलनलाई ‘अपहरण’ गरी हिंसात्मक बनाइएको आरोप लगाइएको छ। प्रदर्शनका क्रममा निहत्था नागरिकमाथि गोली प्रहार हुँदा १९ जनाको ज्यान गएको उल्लेख गर्दै घटनालाई रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ।

त्यसपछिका दिनमा देशका विभिन्न स्थानमा आगजनी, तोडफोड तथा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याइएको उल्लेख गर्दै विज्ञप्तिमा ती गतिविधि योजनाबद्ध रहेको दाबी गरिएको छ। सुरक्षाकर्मीमाथि आक्रमण र सार्वजनिक संस्थामा क्षति पुर्‍याउने कार्यलाई गम्भीर आपराधिक गतिविधि भएको जनाइएको छ।

घटनापछि गठन गरिएको छानबिन आयोगले भदौ २३ गतेका घटनामा बढी केन्द्रित भई २४ गतेका घटनामा संलग्न व्यक्तिलाई जिम्मेवार नठहराएको भन्दै विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ। आगजनीका क्रममा सरकारी भवनसँगै महत्वपूर्ण कागजात नष्ट भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रविरोधी गतिविधिका रूपमा व्याख्या गरिएको छ।

विज्ञप्तिमा राज्यले पक्षपातपूर्ण ढंगले कारबाही अघि बढाएको आरोप लगाइएको छ। देशमा भएका हिंसात्मक गतिविधिमा संलग्नलाई उन्मुक्ति दिने र अर्कोतर्फ पूर्वगृहमन्त्री रमेश लेखक तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही अघि बढाउनु पूर्वाग्रही कदम भएको दाबी गरिएको छ।

दलले सबै खालका अपराधीलाई निष्पक्ष रूपमा कारबाहीको दायरामा ल्याउन र वर्तमान सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको छ।aa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here