मिटरब्याज प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक सापकोटा विरुद्ध पक्राउ पूर्जी

0
194

झापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर भद्रपुर झापामा कार्यारत सशस्त्र प्रहरी निरीक्षक भिष्म सापकोटा मिटरब्याज प्रकरणमा जोडिएका छन् । उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीसहित बिर्तामोड–६ बुट्टाबारीका लेखनाथ सुवेदी, र डिल्लीराम भण्डारी विरुद्धसमेत पक्राउ पूर्जी जारी भएको बताइएको छ । झापाको बिर्तामोडमा व्यवसायी परिवारमाथि मिटरब्याज, आपराधिक विश्वासघात र असुली (एक्सटर्सन) सम्बन्धी उजुरी परेसंगै उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ ।

बिर्तामोड नगरपालिका–१ भीआईपी टोल निवासी एक ३७ वर्षीया महिलाले आफ्ना पतिलाई लक्षित गरी आर्थिक शोषण, धम्की तथा अनुचित लेनदेन गरेको दावी गर्दै उनीहरु विरुद्ध उजुरी गरेकी थिइन् । उनीहरूले योजनाबद्ध रूपमा उच्च ब्याजदरमा ऋण प्रवाह गरी चेक नियन्त्रणमा राख्दै थप रकम असुल्ने प्रयास गरेको उजुरीकर्ताले निवेदनमा उल्लेख गरेकी छिन् ।

उजुरी अनुसार लेखनाथ सुवेदी र ती व्यवसायीबीच पुरानो चिनजानका आधारमा पछिल्लो दुई वर्षदेखि आर्थिक कारोबार सुरु भएको थियो । व्यवसाय विस्तारका क्रममा विभिन्न चरणमा गरी करिब ५९ लाख ५० हजार रुपैयाँ ऋण लिइएको उल्लेख छ ।

  • बिर्तामोडका व्यवसायीलाई आर्थिक शोषण गरेको आरोप

AI द्वारा तयार गरिएको यो तस्वीर संकेतिक मात्र हो ।


तर,उक्त रकममा अस्वाभाविक रूपमा ३६० प्रतिशतसम्म ब्याज जोडिएको र रकम फिर्ता गर्दासमेत पुराना चेक फिर्ता नगरिएको उजुरीमा उल्लेख गरिएको छ । उल्टै नयाँ चेक लिनुका साथै अग्रिम ब्याज जोडेर थप दायित्व सिर्जना गरिएको उनीहरु माथि आरोप छ ।

उजुरीकर्ताका अनुसार विभिन्न बैंकिङ माध्यम, नगद र विद्युतीय भुक्तानीमार्फत ठूलो रकम फिर्ता गरिसकिएको छ । विवरणअनुसार ७४ लाख ८१ हजार रुपैयाँभन्दा बढी रकम तिरिसक्दा पनि बाँकी रकम देखाउँदै थप दबाब दिइएको दाबी गरिएको छ ।

उजुरीमा विशेषगरी डिल्लीराम भण्डारीको जिम्मामा रहेका २०–२० लाख रुपैयाँका दुई चेक फिर्ता माग्दा १ करोड ३० लाख रुपैयाँ दिएपछि मात्र फिर्ता गर्ने भनिएको उल्लेख छ ।
यसैबीच, विभिन्न मितिमा काटिएका करिब ८३ लाख रुपैयाँ बराबरका अन्य चेकहरू समेत आरोपितले कब्जामा राखेको जनाइएको छ । ती चेकका आधारमा बैंकिङ कारोबार अवरुद्ध गराउने तथा कालोसूचीमा पार्ने काम भएको दाबी उजुरीकर्ताले गरेकी छन् ।

उजुरीकर्ताका अनुसार ३५ लाख रुपैयाँ ऋण लिँदा ६ महिनाको लागि ५ लाख ब्याज अग्रिम लिने सर्त राखिएको थियो । सो ऋण सुरक्षणका लागि ४० लाख रुपैयाँ बराबरका दुई चेक पनि दिइएको जनाइएको छ ।
तर पछि ती चेक फिर्ता माग्दा नदिई विभिन्न बहानामा टारिएको र उल्टै थप रकम माग गरिएको उजुरीमा उल्लेख छ ।
आरोपितहरूले ९५ लाख रुपैयाँ नदिए प्रहरी लगाएर पक्राउ गराउने, थप रकम असुल्ने भन्दै पटक–पटक धम्की दिएको समेत उजुरीकर्ताले दाबी गरेकी छन् ।

उनका अनुसार यस्तो गतिविधिले व्यवसायमा गम्भीर असर परेको, बैंकिङ कारोबार अवरुद्ध भएको र मानसिक तनावसमेत झेल्नुपरेको बताएकी छिन् । उजुरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा आपराधिक लाभसम्बन्धी कसूरमा कारबाही गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न अस्वीकार गरिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत पुनः जाहेरी दर्ता गराउन खोजिएको पनि उल्लेख छ । उजुरीसँगै विभिन्न बैंक भौचर, चेकको प्रतिलिपि, विद्युतीय भुक्तानी विवरण तथा कारोबारसम्बन्धी कागजात प्रमाणका रूपमा पेश गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक सापकोटा विरुद्ध पक्राउ पूर्जी जारी भएपनि जिल्ला प्रहरी कार्यालय झापाले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन ।उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर भद्रपुर झापामा कार्यरत रहेको प्रहरी श्रोतको दावी छ ।
यता बिर्तामोडका लेखनाथ सुवेदी अस्पताल सञ्चालक हुन् । उनको बिर्तामोडमा आँखा अस्पताल रहेको बताइएको छ ।
भण्डारी भने प्रहरी निरीक्षक सापकोटाका ससुरा हुन् । उनले ससुरालाई अघि सारेर मिटर व्याज सम्वन्धि कारोवार गर्दै आएको बताइएको छ । यता सुवेदी पनि उनीहरुका नातेदार हुन् । पारिवारिक मिलेमत्तोमा नै उनीहरुले मिटर व्याज सम्वन्धि कारोवार गर्दै आएको श्रोतको दावी छ । अन्य विभिन्न व्यक्तिसंग पनि उनीहरुले मिटर व्याज सम्वन्धि कारोवार गर्दै आएको बुझिएको छ ।

उता विराटनगरमा मिटरब्याजीले आतंक सृजना गरेको खुलेको छ । विराटनगरका यातायात व्यवसायीलाई मिटरब्याज कारोबारीको समूहले ज्यान नै मार्ने धम्की दिँदै करोडौँ रकम माग गरेको घटना सार्वजनिक भएको छ ।
विराटनगर महानगरपालिका–१२ का ६१ वर्षीय राजन क्षेत्री कँडेलले आफू र आफ्नो परिवारमाथि मिटरब्याजको धन्दा चलाउने गिरोहले धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका हुन् । शुक्रबार ५ जनाविरुद्ध जाहेरी परेको छ । मिटरब्याजको गिरोहका सदस्य विराटनगर महानगरपालिका–९ मा बस्दै आएका भोलेनाथ गुप्ता, एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र विराटनगर–७ का प्रवीन जैनविरुद्ध कँडेलले उजुरी दिएका हुन् ।

कँडेलका अनुसार मिटरब्याजको धन्दा चलाइरहेको गिरोहले चैत १५ गते बिहान घरमा आएर धम्की दिएको थियो । शेखर पोखरेल, शिव भवानीलगायतको समूहले घर घेराउ गरी आतंक सिर्जना गरेको उनको गुनासो छ । कँडेलले जाहेरी दिएका व्यक्तिहरु विराटनगरमा लामो समयदेखि मिटरब्याजको धन्दा चलाउने गिरोह रहेको प्रहरी स्रोतले बतायो ।

जाहेरी परेकामध्ये भोलेनाथ गुप्ताले आफूलाई मिटरब्याजको कुरा थाहा नभएको बताए । ‘मसँग आशिष निरौलाले १० लाख रूपैयाँ भदौमा लिएका हुन् । त्यो पैसा कसलाई दिए र कसको चेक लिए भन्ने मलाई थाहा छैन,’ उनी भन्छन, ‘उजुरी परेको थाहा पाएपछि हामी छलफलमा बस्यौं । मिटरब्याजको धन्दामा संलग्नता नभएकाले नडराउनु भनेर मलाई साथीहरुले भन्नु भएको छ ।’

आफूले कसैको चेक बाउन्स नगरेको उनले बताए । ‘आशिष निरौलाबाहेक अरुसँग मेरो लेनदेन छैन । म जागिर खाएर बस्ने मान्छे हुँ । निर्दोश छु,’ उनी भन्छन् । गुप्ताले आफू विराटनगरकै एउटा उद्योगमा लेखापालको रुपमा कार्यरत रहेको बताए । उनी भन्छन्, ‘मेरो घर सप्तरी हो । विराटनगर–१० मा बस्छु । एउटा फ्याक्ट्रीमा लेखापाल काम गर्छु । अरु कुरा मलाई थाहा छैन ।’

आशिष निरौलाले भने व्यक्तिगत लेनदेनको विषय रहेको र त्यो कुरा मिलिसकेको बताए । ‘मिटरब्याजको कुनै विषय हैन । मैले बहिनी (राजनकी छोरी रोजी कँडेल)लाई पैसा दिएको हो । त्यो कसरी मिटरब्याज हुन्छ ? मकैसँगै घुन पिसिएको हो । तर, हाम्रो व्यवहार पनि मिलिसक्यो,’ निरौला भन्छन् ।

जाहेरीमा नाम उल्लेख गरिएका विष्णुकुमार साहले आफूहरुविरुद्ध उजुरी परेको थाहा पाएपछि कुरा मिलाइसकिएको बताए । ‘हिजो राति (शुक्रबार राति) नै सबै कुरा मिलिसकेको छ । अरु कुरा केही हैन । राजन कँडेलकी छोरीले गर्दा अलिकति समस्या भएको हो,’ उनले भने ।

जाहेरीमा नाम जोडिएका एजाज अहमद र प्रवीन जैनले भने फोन उठाएनन् । एजाज र प्रवीन दुवै जना विराटनगरका नामुद मिटरब्याजी रहेको प्रहरी स्रोतको भनाइ छ । विगत लामो समयदेखि मिटरब्याज धन्दामा उनीहरुको नाम जोडिने गरेको छ । स्रोतका अनुसार राजन कँडेललाई सबैभन्दा बढी धम्की दिने व्यक्ति विष्णुकुमार र एजाज हुन् ।

‘एउटा सामान्य व्यवसाय गरेर खाने मान्छेलाई मिटरब्याजको गिरोहले सडकमै ल्याइदिएको छ । यो घटनामा राजन कँडेल अत्यन्तै धेरै पीडित छन् । जाहेरी परिसकेकाले मिटरब्याजको धन्दा चलाउने गिरोहलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याउनुपर्छ,’ एक स्थानीय भन्छन् । मिटरब्याजीका कारण कँडेलसहित उनको सिंगो परिवार पीडित बनेको स्थानीयको भनाइ छ ।
के हो घटना ?
राजन कँडेलकी छोरी रोजी विराटनगरस्थित सिटीजन्स बैंकको कन्चनबारी शाखाकी कर्मचारी थिइन् । उनकी छोरीविरुद्ध नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले रोजी कँडेलमाथिको अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तर, रोजी भने फरार छिन् ।

रोजी फरार भएकै अवस्थामा रोजीसँग कारोबार रहेको भन्दै भोलेनाथ गुप्तासहित विराटनगर–९ का एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र विराटनगर महानगरपालिका– ७ का प्रवीन जैनले बुवा राजनमाथि दबाब सिर्जना गरेका हुन् । यो समूह विराटनगरमा सक्रिय मिटरब्याजीको गिरोहमध्येको एउटा रहेको प्रहरीको भनाइ छ ।

राजन कँडेलका अनुसार यो समूहसँग उनको परिवारका सबै सदस्यको चेक छ । ‘मेरो श्रीमती र छोरा–बुहारीको ६–७ वटा चेक यिनीहरुसँग छ । तर, हामीले चेक काटेर दिएको छैनौं । सबैलाई म चिन्दिन पनि,’ कँडेलले भने, ‘छोरी बैंकमा कार्यरत हुँदा छोरीबाट चेक लिएको हुनसक्छ ।’ यो समूहले कँडेलसँग ५ करोड ६० लाख रुपैयाँ भन्दा बढी नगद दिन माग गरिरहेको छ । पैसा नदिए जे पनि हुनसक्ने भन्दै धम्की दिइरहेको उनले बताए ।

रोजी कँडेल बैंकको रकम हिनामिना प्रकरणमा जोडिएपछि छोरीले बुझाउनु पर्ने भन्दै मिटरब्याजीको समूहले ५ करोड ६० लाख रुपैयाँ नगद नै दिन दबाब दिएको कँडेलको भनाइ छ । उनले यो कुरा जाहेरीमा पनि उल्लेख गरेका छन् । पैसा नदिए परिवारका सदस्यलाई नै गायब पारिदिने धम्की पनि दिएको कँडेलले बताए ।

उनले धम्की दिनेसमूहसँग रहेका चेकहरूमा आफ्नो हस्ताक्षर नभएको र कुनै पनि लेनदेन नभएको दाबी गरेका छन् । ‘मैले कहिल्यै हस्ताक्षर नगरेको र लेनदेन नै नभएको अवस्थामा नक्कली चेक देखाएर मलाई र मेरो परिवारलाई त्रसित बनाइयो,’ उनले भने, ‘कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको छु ।’

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको बताए । ‘बैंकको रकम ठगी गरेको कसुरमा फरार महिला पक्राउ परेपछि थप विषय खुल्छ,’ उनले भने, ‘मिटरब्याजको उजुरीको विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ विराटनगरमा मिटरब्याजको गिरोह सक्रिय रहेको जानकारी आएको बताउँदै एसपी कटवालले गिरोहलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रियता बढाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here