अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले सोमबार एक कार्यक्रमकोबीच अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामग्रीहरु वितरण गरेको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालको साझेदारीमा गत आर्थिक वर्ष ०८१÷०८२देखि सञ्चालित अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई उक्त सहायता सामग्रीहरु वितरण गरिएको हो ।
वितरण गरिएका सामग्रीहरुमा ट्वाइलेट चेयर २५ थान, व्हील चेयर १५ थान, वैसाखी ११ थान, वाइट क्यान १० थान, एल क्यान नौ थान, नी क्याप छ थान, ट्राइपोड स्टीक पाँच थान, एयर म्याट्रेस चार थान, पेटी चार थान, सहायक सामग्री(रोलेटर) तीन थान, मोबिलाइजेशन बेड दुई थान, युरीन म्याट दुई थान र वाकर दुई थान रहेका छन् । वितरण गरिएको सहायता सामग्रीहरुको जम्मा लागत आठ लाख ३४ हजार नौ सय ५० रुपैयाँ रहेको महिला, बालबालिका तथा ज्येष्ठ शाखाकी प्रमुख सूर्यमाला पन्धाकले जानकारी दिइन् ।

नगरपालिकाकी उपप्रमुख एवम् स्थानीय अपांग समन्वय समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख बलदेवसिंह गोम्देन तामाङ, फाउण्डेशनका पालिका संयोजक सुरेन्द्र गिरीलगायतले उक्त सामग्रीहरु लाभग्राहीलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख पन्धाकले गरेकी थिइन् ।






























