अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
संस्थामा आबद्ध महिला शेयर सदस्यहरुलाई क्यान्सर रोग तथा अन्य गुप्त रोग सम्बन्धी जानकारी दिने उद्देश्यले संस्थाको वार्षिक कार्यक्रमअन्र्तगत सचेतना कार्यक्रमको आयोजना गरिएको संस्था सञ्चालक समितिकी अध्यक्ष हिमादेवी विष्टले जानकारी दिइन् ।
स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको कभर्ड हलमा समितिकी अध्यक्ष विष्टको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

विराटनगरस्थित समता युथ गु्रप तथा समता गुप्तरोग स्वास्थ्य सेवा संस्थाको प्राविधिक सहयोग रहेको कार्यक्रममा सहजकर्ताद्वय संस्थाका प्रमुख राजिब बस्नेतले गुप्त रोग र डा.ब्रोमिस बुढाथोकीले क्यान्सर रोगसम्बन्धी सहजिकरण गरेका थिए । कार्यक्रममा ६० जना बढीको सहभागिता रहेको आयोजक संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले जानकारी दिइन् ।
कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद गौतमलगायतको आतिथ्यता रहेको थियो । समितिकी उपाध्यक्ष यशोदा पौड्यालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक श्रेष्ठले गरेकी थिइन् ।






























