इलाम,

फाकफोकथुम गाउँपालिका–५, लुम्देमा जालपा माध्यमिक विद्यालयको नाममा जग्गा खरिद गर्ने निर्णयले स्थानीय र प्रवासी समुदायमा ठूलो विवाद सिर्जना गरेको छ।
विद्यालय व्यवस्थापन समिति र जग्गा खरिद समितिका प्रतिनिधिहरूले मिलेर निर्णय लिएको आरोप लागेको छ। एमाले निकट विद्यालय प्राध्यापक लैन बहादुर बस्नेत र व्यवस्थापन समिति अध्यक्ष राज कुमार राई तथा कांग्रेस निकट जग्गा खरिद समितिका अध्यक्ष हर्क फियाकले मिलेर निर्णय लिएको बताइएको छ, जसले विवाद थप चर्काएको छ।
स्थानिय सरकारको बजेट सीमित भएकाले प्रवासी पूर्व विद्यार्थीहरूले स्वेच्छाले आर्थिक सहयोग उठाएका थिए। वेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र खाडी राष्ट्रहरूमा बस्ने पूर्व विद्यार्थीहरूले विद्यालयका लागि लगभग २० लाख रूपैयाँ सहयोग पठाएका थिए। तर खरिद गर्न लागिएको जग्गा महँगो दरमा र भिरालो तथा वन क्षेत्रमा पर्ने भएकाले स्थानीय र प्रवासीहरूले चिन्ता व्यक्त गरेका छन्।
वेलायतमा बस्ने पूर्व विद्यार्थी सुदिप वान्तावाका अनुसार जग्गा खरिद प्रक्रिया २–४ जना मिलेर गरिएको निर्णयको आधारमा अघि बढेको छ, जुन पूर्ण रूपमा गलत छ।उंहले भन्नुभयो “म एक जिम्मेवार पूर्व विद्यार्थी भएको नाताले चुप बस्न सकिनँ। बाबुसाहेब काकाको घरछेउको भित्तो, त्यपनि महँगो दरमा खरिद गर्ने निर्णय गलत छ। प्रक्रिया तत्काल रोकिनुपर्छ, अन्यथा विदेशमा पठाइएको रगत पसिनाबाट संकलित रकमको अनधिकृत प्रयोगको कानूनी जोखिम हुन सक्छ।”
खरिद गर्न लागिएको जग्गा व्यावहारिक रूपमा उपयुक्त छैन। उहाँले भन्नुभयो कि खेलमैदानको छेउमा आधुनिक भवन निर्माण गर्दा विद्यालयलाई बढी लाभ पुग्नेछ। शैक्षिक संरचना निर्माणजस्तो महत्वपूर्ण परियोजनाको लागि प्रभावकारी र प्राविधिक ज्ञान भएको समिति गठन नभएकाले गलत निर्णय भएको उहाँको भनाइ थियो। जग्गा महँगो दरमा खरिद हुनु, डोनरहरूको नाम ताम्रापत्रमा मात्र लेखिने लोभ देखाएर प्रचार गर्नु, र राजनीतिक मिलेमतोले विद्यालयको हितमा हानिकारक असर पर्ने सन्दर्भमा सुदिपले सबै प्रवासी लुम्दे र स्थानीयलाई विद्यालयको हित सुनिश्चित गर्न एकजुट हुन आग्रह गर्नुभएको छ।
स्थानीय र प्रवासीहरूले विद्यालयको हित सुनिश्चित गर्न न्यायोचित निर्णयको माग गर्दै सबै पक्षलाई साझा समाधानका लागि आग्रह गरेका छन्।































