रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका -१० सैनिकबजारस्थित महेन्द्रज्योति माद्यामिक विद्यालयले विद्यार्थी बस सञ्चालनमा ल्याएको छ।
विद्यार्थी विद्यालय आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले बस सञ्चालनको उदघाटन गरिएको हो। विद्यालय प्राङ्गणमा एक कार्यक्रमबिच विश्वकर्माको पूजाअर्चना गर्दै स्कुल बस सञ्चालनको उदघाटन गरिएको हो।
बिर्तामोड -१०मा रहेको एक मात्र सामुदायिक माविका स्थानीय जनसमुदाय तथा अभिभावकको माग अनुसार विद्यार्थी ओसारपसार गर्न यातायात सुविधाका लागि विद्यालयमा बस व्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक जयकुमार झाले जानकारी दिए। उनले हाललाई विद्यालयको आन्तरिक स्रोतबाट शैक्षिकसत्र २०८३ का लागि एउटा बस भाडामा सञ्चालनमा ल्याइएको बताए।
शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद शिवाकोटीले विद्यालय क्षेत्रमा अनेकौं विद्यालय तथा बोर्डिङका बस सञ्चालन भइरहँदा आफ्ना विद्यार्थीहरुमा यातायातको सुविधाको अभावले अध्ययनमा समेत असर पुगेकोले बस व्यवस्थापन गरिएको र यसबाट विद्यालयको शैक्षिक गुृणस्तर अभिवृद्धिमा मद्दत पुग्ने बताए ।
बिर्तामोड -१०का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङले विद्यालयको शैक्षिक विकासका थप योजना अगाडि बढाइने र त्यसमा सरोकारवाला सबैले सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिए।
उक्त उदघाटन कार्यक्रममा विव्यसका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षासेवी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो। भूपू सैनिकहरुको बसोबास क्षेत्रको रुपमा परिचित सैनिकमा वि.स. २०२३ सालमा स्थापित महेन्द्रज्योति माविमा हाल एसईई परीक्षा सञ्चालन भइरहेको छ भने यहाँ अधिकांश विपन्न समुदायका विद्यार्थी अध्ययनरत छन्।































