ग्रीन सिटीमा सम्पन्न श्रीमद्भागवत महापुराणको आयव्यय सार्वजनिक : २१ लाखभन्दा बढी आम्दानी

0
2

सुन्दरहरैंचा(मोरङ),

सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथीभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथीभरा माताको मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ।

चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक महायज्ञको समापनपछि आयोजित सार्वजनिक कार्यक्रममा आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको हो। कार्यक्रममा आर्थिक संयोजक रमेश घिमिरेले प्रस्तुत गरेको विवरणअनुसार नगदतर्फ १२ लाख ६७ हजार ७२८ रुपैयाँ तथा जिन्सी (वस्तुगत सहयोग) तर्फ ८ लाख ७२ हजार ३३६ रुपैयाँ संकलन भएको छ।

यसरी कुल आम्दानी २१ लाख ४० हजार ६५ रुपैयाँ पुगेको जनाइएको छ। उक्त महायज्ञ सञ्चालनका क्रममा कुल ७ लाख ३२ हजार ६३० रुपैयाँ खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ। खर्च कटाएर बाँकी रकम मन्दिरको विकास, संरक्षण तथा आगामी धार्मिक कार्यक्रमहरूमा उपयोग गरिने समितिले जनाएको छ।

आयव्यय सार्वजनिक कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले महायज्ञ सफल पार्न सहयोग गर्ने सम्पूर्ण श्रद्धालु, दाताहरू तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरे। उनले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले समुदायमा एकता, सद्भाव र धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि राजन बराईलीले धार्मिक गतिविधिहरूले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने बताउँदै पारदर्शी रूपमा आयव्यय सार्वजनिक गरिएकोमा समितिको प्रशंसा गरे। कार्यक्रममा सचिव उमाकान्त चम्लागाईले सञ्चालन गरेका थिए भने कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाअधिकारीहरु लगायत अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here