अर्जुनधारा ।

झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा यही चैत २७ गतेदेखि वैशाख ८ गतेसम्म यू–१३ इण्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसीप हुने भएको छ ।
स्थानीयस्तरमा रहेका बालबालिकाहरुमा क्रिकेट खेलको रुची वृद्धिसँगै राष्ट्रिय एवम् अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमालले जानकारी दिए ।
राउण्ड रोविन लिग एवम नकआउट गरि दुई वटा खेल प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा छिमेकी देश भारतको पश्चिम बंगाल राज्यको कोलकातास्थित क्रिकेट जोनल अन्दाल र बिहार राज्यको पटनास्थित हाइ पर्फमेन्स क्रिकेट एकाडेमीसहित १० टिम सहभागी छन् । प्रतियोगिताका सहभागी अन्य टिमहरुमा आयोजक, मेचीनगरस्थित मिलन क्रिकेट क्लब र सरस्वती क्रिकेट एकाडेमी, दमकस्थित आस्था क्रिकेट एकाडेमी र हिमावि क्रिकेट एकाडेमी, विराटनगरस्थित लायन्स क्रिकेट एकाडेमी र इनरुवास्थित इनरुवा क्रिकेट एकाडेमी र फूलबारी स्पोर्टस एकाडेमी रहेका छन् ।

अर्जुनधारा नगरपालिका–६स्थित बोस्टन क्रिकेट एकाडेमी सह–आयोजक रहेको प्रतियोगिताका खेलहरु अर्जुनधारा नगरपालिका–९ गोलधापस्थित नमूना खेलमैदानमा सञ्चालन हुने बताइएको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यसैगरी प्रतियोगिताको म्यान अफ दी सिरीजले नगद पुरस्कार १० हजार, बेस्ट बलर र बेस्ट ब्याटसम्यानले नगद पुरस्कार जनही पाँच हजार, फाइनल खेल र सेमीफाइनल खेलका म्यान अफ दी म्याचले नगद पुरस्कार जनही दुई हजार प्राप्त गर्ने समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अनुमानित छ लाख ३३ हजार रुपैैयाँ खर्च लाग्ने बताइएको छ ।
समितिका अध्यक्ष धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनाम, झापा जिल्ला क्रिकेट संघका सदस्य बिनित बाँस्तोलालगायतले प्रतियोगिताको विषयमा आफ्नो धारणा राखेका थिए । सञ्चारकर्मी एवम् समितिका सदस्य तिलक योञ्जनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए ।



























