झापा,नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन लक्षित गर्दै झापाको विर्तामोड उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष राजु न्यौपानेका पक्षमा समर्थन जुटाउन औपचारिक पहल थालेको छ ।
संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई पत्राचार गर्दै आगामी चैत २९ र ३० गते हुने ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा कार्यकारिणी सदस्य (खुल्ला) पदका उम्मेदवार न्यौपानेलाई सहयोग र समर्थन गर्न आग्रह गरेको हो ।
संघको चैत ९ गते बसेको कार्यसमिति बैठकले न्यौपानेलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
न्यौपानेले २०६७ सालदेखि कार्यसमिति सदस्यका रूपमा संस्थागत यात्रा सुरु गरेका थिए । त्यसपछि २०७४–२०७७ सम्म उद्योग उपाध्यक्ष, २०७७–२०८० सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै २०८१ सालदेखि संघको अध्यक्षका रूपमा कार्यरत छन् ।
संघका अनुसार न्यौपानेले व्यवसायीका समस्या समाधान, संस्थागत सुदृढीकरण र संघको गरिमा अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेका छन् । बजार तथा व्यावसायिक कम्प्लेक्सहरूमा उपसमिति गठन गरी व्यवसायीका गुनासा नजिकबाट सम्बोधन गर्ने अभ्यासलाई उनले प्राथमिकता दिएका छन्।
त्यस्तै, करको बढ्दो दबाब, नीतिगत अन्योल र प्रशासनिक जटिलताजस्ता समस्याको समाधानका लागि निरन्तर पहल गर्दै उद्योग–व्यापार क्षेत्रको दिगो विकासमा उनले सक्रियता देखाएको संघको दाबी छ ।
संघले न्यौपानेको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धतालाई आधार मान्दै उनलाई विजयी गराउन सम्बद्ध संघसंस्थाहरूको ‘अमूल्य मत’ आवश्यक रहेको भन्दै संघका कार्यवहाक अध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले आग्रह गरेका हुन् ।































