कमल ।

झापाको कमल गाउँपालिका ३ मा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल ३ को प्राविधिक समन्वयमा शिविर सम्पन्न भएको हो ।
ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत प्रजनन् स्वास्थ्य, पाठेघरसम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण (ख्क्ष्ब् परिक्षण ), स्तन परीक्षण, परिवार नियोजन सेवा लगायत महिला रोग सम्बन्धी विभिन्न सेवाहरू उपलब्ध गराइएको थियो ।
पछिल्लो समय महिलाहरुमा विशेषगरी पाठेघरको मुखको क्यान्सरको समस्या देखीन थालेपछि यसको न्युनिकरणकालागी निःशुल्क शिविर सञ्चालन सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा उपस्थित सेवाग्रहीलाई डा. रेश्मा दाहाल सी.ए.एन.एम. सबिता गुरुङ, प्रतिक्षा शाह,. बिन्द्रा राई, सीता फुयाल र झुमा ढुंगानालगायत स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श सेवा प्रदान गर्नु भएको थियो ।

निःशुल्क स्वस्थ्य शिविरमा ८६ जना महिलाहरू परिक्षण गरिएको थियो । यस्ता शिविर बाट ग विशेषगरी लुकेर बसेका स्वास्थ्य समस्याहरूको पहिचान गर्न तथा समयमै उपचार प्रक्रिया अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले जानकारी दिनुभयो ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहिरहेको अवस्थामा यस्ता लक्षित कार्यक्रमहरूले समुदायस्तरमै स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको शाखा प्रमुख दाहालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक वडा अध्यक्ष भगवती राईले महिला स्वास्थ्यलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता शिविरहरूले समुदायमा सकारात्मक व्यवहारमा परिवर्तन ल्याउने सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सेवा विस्तार गरिने राईले बताउनुभयो ।
कमल गाउँपालिकाले पछिल्लो समय समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको छ । यस किसिमका शिविरहरूले ग्रामीण महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समग्र जनस्वास्थ्य सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको ३ नम्वर वडा सचिव देबी प्रसाद फुएलले बताउनुभयो ।
आगामी चैत्र २६ गते विहीवार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–१ बासबारीमा पनि निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।































